काठमाडौं। हवाई इन्धनको मूल्य घटेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडामा लाग्ने फ्युल सरचार्ज घटाएको छ। प्राधिकरणका अनुसार यो भाडादर समायोजन पुस १८ गतेदेखि नै लागू हुने जनाएको छ।
नेपाल आयल निगमले बुधबार आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटाएको थियो। सोहीअनुसार हवाई भाडामा लाग्ने फ्युल सरचार्ज पनि घटाइएपछि हवाई टिकटको भाडा सस्तो भएको छ।
प्राधिकरणले काठमाडौं–धनगढी रुटमा सबैभन्दा ठूलो फ्यूल सरचार्ज कटौती गरेको छ। ५ हजार ९२० रुपैयाँ फ्यूल सरचार्ज रहेको यो रुटमा अब सरचार्ज ५ हजार ६५५ रुपैयाँ कायम भएको छ।
कुन रुटमा कतिले घट्यो भाडा ?
- काठमाडौं–धनगढी: २६५ रुपैयाँ
- माउन्टेन फ्लाइट: २१० रुपैयाँ
- काठमाडौं–भद्रपुर: १८० रुपैयाँ
- काठमाडौं–विराटनगर: १४० रुपैयाँ
- काठमाडौं–जनकपुर: ७५ रुपैयाँ
- काठमाडौं–पोखरा: ९५ रुपैयाँ
- काठमाडौं–भरतपुर: ६५ रुपैयाँ
- काठमाडौं–भैरहवा: १२५ रुपैयाँ
- काठमाडौं–नेपालगञ्ज: १९५ रुपैयाँ
- काठमाडौं–तुम्लिङटार: ११० रुपैयाँ
- काठमाडौं–सिमरा: ५५ रुपैयाँ
क्यानले यस समायोजनले हवाई यात्रा गर्ने यात्रुहरूलाई प्रत्यक्ष लाभ पुग्ने बताएको छ ।









