काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालसहित सात राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने भएका छन्।
जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपालले संयुक्त रूपमा मोर्चा घोषणा गर्न लागेका हुन्।
मोर्चा घोषणा कार्यक्रम आज शनिबार दिउँसो १ बजे काठमाडौंको थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा आयोजना हुने प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रचार विभाग प्रमुख रजमान तामाङले जानकारी दिए।
नेताहरूका अनुसार घोषणा कार्यक्रममा ‘अग्रगामी मोर्चा’को उद्देश्य, संगठनात्मक संरचना तथा भावी राजनीतिक कार्यदिशाबारे जानकारी दिइनेछ। सात दलबीच सहकार्यलाई संस्थागत गर्दै आगामी राजनीतिक गतिविधिमा संयुक्त रूपमा अघि बढ्ने विषयमा पनि कार्यक्रममा धारणा सार्वजनिक गरिने बताइएको छ।
गत सोमबार ललितपुरमा भएको छलफलबाट सात दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ गठन गर्ने निर्णय गरेका थिए। छलफलमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलगायतका नेताहरू सहभागी थिए। आम जनता पार्टीका अध्यक्ष प्रभु शाह र जसपा नेपालका नेता जितेन्द्र सोनल पनि छलफलमा सहभागी भएका थिए।
सात दलले घोषणा गर्न लागेको मोर्चाले आगामी दिनमा साझा राजनीतिक मुद्दा र कार्यदिशाका आधारमा सहकार्य गर्ने तयारी गरेको छ। मोर्चाको औपचारिक घोषणा भएपछि यसको संरचना, नेतृत्व र आगामी कार्यक्रमबारे थप विवरण सार्वजनिक हुने बताइएको छ।





