धादिङ । भोटेकोसी बाढीले पक्की पुल बगाएपछि अवरुद्ध बनेको धादिङको फुर्केखोलामा अस्थायी पन्टुन ब्रिज (तैरिने पुल) जडान गरिने भएको छ। धादिङका आठ स्थानीय तहलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडक सम्पर्क पुनःस्थापना गर्न स्थानीय तहहरूको पहलमा पुल जडानको तयारी गरिएको हो।
गत भदौ १० गते आएको बाढीले फुर्केखोलाको पक्की पुलसहित त्रिशूली नदी वारपार गर्ने चारवटा पक्की पुल बगाएपछि धादिङबेसी र पृथ्वी राजमार्गबीचको सडक सम्पर्क विच्छेद भएको थियो। सडक अवरुद्ध हुँदा एम्बुलेन्ससमेत वैकल्पिक तथा लामो दूरीको जोखिमपूर्ण सडक प्रयोग गर्न बाध्य छन्।
धादिङका १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको संयुक्त पहल र समन्वयमा मलेखुमा पन्टुन ब्रिज ल्याएर जडान गर्ने तयारी अन्तिम चरणमा पुगेको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले जानकारी दिनुभयो।
उहाँका अनुसार राजापुर सिँचाइ व्यवस्थापन कार्यालय, बर्दियाअन्तर्गत रहेको पन्टुन ब्रिज फुर्केखोलामा ल्याएर अस्थायी रूपमा जडान गरी सञ्चालनमा ल्याउने तयारी गरिएको हो। यसैक्रममा सम्बन्धित कार्यालयसँगको समन्वयमा प्राविधिक टोलीले पुल जडानको सम्भावना र आवश्यक प्राविधिक पक्षबारे स्थलगत निरीक्षण गरेको छ।
सबै प्रक्रिया अनुकूल भएमा केही दिनभित्रै पुल जडान सम्पन्न गरी तिहारअघि नै यातायात सञ्चालनमा ल्याउने लक्ष्य राखिएको अध्यक्ष दनैले बताउनुभयो। स्थायी पुल निर्माण नहुँदासम्म यसले आवागमन सहज बनाउने अपेक्षा गरिएको छ।
पन्टुन ब्रिज पानीमा तैरिने संरचनाको सहायताले बनाइने अस्थायी वा स्थायी पुल हो। यसमा सामान्य पुलमा जस्तो खोलाको पिँधसम्म पुग्ने पिलर आवश्यक पर्दैन। पानीमा तैरिने संरचनालाई जोडेर पुल निर्माण गरिन्छ।
प्राविधिकहरूका अनुसार यस्तो पुल कम खर्चमा छिटो जडान गर्न सकिन्छ। आवश्यक नपरेमा फुकालेर अर्को स्थानमा लैजान पनि सकिन्छ। तर नदीमा पानीको बहाव अत्यधिक बढेमा वा बाढी आएमा यसको सुरक्षामा जोखिम हुन सक्छ।
यसैबीच, संघीय सरकारले पनि मलेखुको फुर्केखोलामा स्थायी समाधानका लागि सिग्नेचर ब्रिज निर्माण गर्ने तयारी गरेको छ। धादिङ क्षेत्र नम्बर २ का सांसद बोधनारायण श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत पुल निर्माणका लागि बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ।
उहाँले त्रिशूली नदी वारपार गर्ने घाटबेसीको पक्की पुल र अन्य पाँचवटा सडक स्तरोन्नतिका लागि आवश्यक बजेट व्यवस्थापन गरी प्रक्रिया अघि बढाइनेसमेत उल्लेख गर्नुभएको छ।








