धनकुटा । धनकुटाको मूलघाटमा केमिकल बोकेको ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन्।
शुक्रबार बिहान धनकुटा नगरपालिका–९ स्थित कोशी लोकमार्गमा ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० फिट तल खसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
प्रहरी निरीक्षक पाण्डव राजवंशीका अनुसार इटहरीबाट संखुवासभातर्फ जलविद्युत् आयोजनामा प्रयोग हुने रासायनिक पदार्थ बोकेर जाँदै गरेको प्रदेश १–०२–००२ ख ०५९० नम्बरको ट्रक दुर्घटनामा परेको हो।
दुर्घटनामा ट्रक चालक सुनसरीको इटहरी उपमहानगरपालिका–८ का २५ वर्षीय अभिषेक चौधरी र सहचालक मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का १८ वर्षीय राहुल चौधरी घाइते भएका छन्।
घाइते दुवैलाई उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ। चालक चौधरीको अवस्था मध्यम र सहचालकको अवस्था सामान्य रहेको छ।
दुर्घटनाग्रस्त ट्रक घटनास्थलमै रहेको र निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण ट्रक निकाल्न कठिनाइ भइरहेको प्रहरी उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








