काठमाडौँ । बलिउड अभिनेता अमिताभ बच्चनको मुम्बईस्थित बंगला ‘जलसा’लाई बमले उडाइदिने धम्की फेरि आएको छ। धम्कीपूर्ण इमेल प्राप्त भएपछि मुम्बईमा सुरक्षा सतर्कता जारी गरिएको छ।
इमेलमा बच्चनको बंगलासहित बम्बई स्टक एक्सचेन्ज (बीएसई), वरली रेसकोर्स र बम्बई उच्च अदालतलाई पनि बमले उडाउने धम्की दिइएको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार इमेल प्राप्त भएपछि मुम्बई प्रहरी र अन्य सुरक्षा निकाय सतर्क भएका छन्।
अधिकारीहरूका अनुसार प्रहरीले बम पत्ता लगाउने तथा निष्क्रिय पार्ने टोली र अन्य सुरक्षा एजेन्सीसँग मिलेर शंकास्पद स्थानमा व्यापक खोजी गरेको थियो। तर कुनै पनि स्थानमा शंकास्पद वस्तु वा विस्फोटक पदार्थ फेला परेन।
प्रहरीको साइबर टोलीले धम्कीपूर्ण इमेल पठाउने व्यक्तिको आईपी ठेगाना पत्ता लगाउने प्रयास गरिरहेको छ।
यसअघि अक्टोबर २३ मा पनि मुम्बईकी मेयर रितु तावडेलाई धम्कीपूर्ण इमेल प्राप्त भएको थियो। उक्त इमेलमा अमिताभ बच्चनको बंगला उडाउने र बच्चनसहित गायक दिलजित दोसाँझलाई मार्ने धम्की दिइएको थियो।
इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ भित्र कुनै पनि समयमा बच्चनको बंगलामा हमला गरिने उल्लेख थियो। उक्त आक्रमण सन् १९८४ को अपरेसन ब्लु स्टारको बदलास्वरूप गरिने दाबी गर्दै इमेलमा खालिस्तान समर्थक नारा पनि लेखिएको थियो।










