काठमाडौँ, नेपाल प्रहरीले १२ वर्षीया एक बालिकाको हत्यामा संलग्न भएको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मोरङको लेटाङ नगरपालिका–२ निवासी नवीन गौतमकी १२ वर्षीया छोरीको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा ५८ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

गत असोज २१ गते दिउँसो हराएकी बालिकाको शव कात्तिक ७ गते लेटाङ–२ अन्तर्गत बेलबारी चिसाङ सामुदायिक वनभित्र फेला परेको थियो। घटनास्थलमा भेटिएका हाफ पाइन्ट, चप्पल र घडीका आधारमा अनुसन्धान अघि बढाउँदै जाँदा अधिकारीमाथि शंका पुष्टि भई उनैलाई पक्राउ गरिएको सिआइबीका सहप्रवक्ता प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिनुभयो।

अनुसन्धानका क्रममा अधिकारीले प्रलोभन देखाई बालिकालाई घरदेखि करिब ४.५ किलोमिटर दूरीमा रहेको जंगलमा लगेर हसियाँ प्रयोग गरी घाँटी रेटी हत्या गरेको खुलेको सहप्रवक्ता भट्टले बताउनुभयो।

उक्त घटनामा ज्यानसम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।