भैरहवा । रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेका अवस्थामा १९ नेपाली नागरिक पक्राउ परेका छन्।लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका–१० स्थित होटल गौतमबुद्ध इन्टरनेसनलभित्र सञ्चालित रोयल कालिङ्गा क्यासिनोमा गएराति छापा मार्दा उनीहरू पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ पर्नेमा क्यासिनो व्यवस्थापनमा संलग्न चार जना र जुवा खेलिरहेका १५ जना रहेका छन्। विशेष सूचनाका आधारमा सञ्चालन गरिएको अपरेसनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

पक्राउ परेकाहरू रुपन्देहीसहित विभिन्न जिल्लाका नेपाली नागरिक रहेको बताइएको छ। घटनास्थलबाट प्रहरीले ९५ हजार ५०० रुपैयाँ नगद, १७ थान मोबाइल फोन र ५० थान क्यासिनो क्वाइन बरामद गरेको छ।

पक्राउ परेकामाथि जुवासम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।