काठमाडौं। नेपाल राष्ट्र बैंकले मंसिर २१ गतेदेखि लागू हुने गरी ८४ दिनका लागि ९० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। बैंकको मौद्रिक व्यवस्थापन विभागले यससम्बन्धी सूचना सार्वजनिक गर्दै अनलाइन बोलपत्र प्रणालीमार्फत आवेदन माग गरेको हो।
सूचनाअनुसार निक्षेप संकलनका लागि आवेदन अनिवार्य रूपमा अनलाइन बोलपत्र प्रणालीमार्फत मात्र पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम समय मंसिर २१ गते मध्याह्न १२ बजेसम्म तोकिएको छ। सोही दिन निक्षेप संकलन प्रक्रिया सुरु हुनेछ। निक्षेप संकलनको ब्याजदर प्रतिस्पर्धात्मक बोलपत्रको आधारमा निर्धारण गरिनेछ। एउटै संस्थाले भिन्दा भिन्दै ब्याजदरमा पनि बोलपत्र पेस गर्न सक्ने व्यवस्था गरिएको छ।
बैंकका अनुसार एकपटकमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम पाँच अर्ब रुपैयाँसम्म बोलपत्र पेस गर्न सकिनेछ। सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकताका आधारमा निक्षेप बाँडफाँट गरिनेछ। संकलित निक्षेपको भुक्तानी मिति आगामी फागुन १७ गते तोकिएको छ। तोकिएको समयअगावै निक्षेप फिर्ता लिन नपाइने व्यवस्था गरिएको छ। साथै, संकलित निक्षेपलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाउने तर तरलता अनुपातमा भने समावेश गरिने उल्लेख गरिएको छ।
यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन् । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीको अतिरिक्त तरलता व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र पूर्वानुमानयोग्य बनाउन यो निक्षेप संकलन योजना ल्याएको जनाएको छ।




