काठमाडौँ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंसिर १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभर २० वटा विपद् घटनाका विवरण प्राप्त भएका छन्। तीमध्ये १७ वटा आगलागीका घटना रहेका छन्।
बाँकी तीन घटनामध्ये मुस्ताङमा लेक लागेको, महोत्तरीमा सर्पदंश, र पर्सामा जनावरको आक्रमण परेको छ। पर्सागढी नगरपालिका–३ झुलिटारकी ५५ वर्षीय एक महिला जंगलमा घाँस काट्न जाँदै गर्दा बाघको आक्रमणबाट घाइते भएकी छिन्।
प्राधिकरणले आगलागीका घटनाबाट रु ८२ लाख ९१ हजार बराबरको क्षति भएको जनाएको छ। आगलागी सिरहामा तीन, भोजपुरमा दुई, तथा पाँचथर, मोरङ, उदयपुर, सप्तरी, रौतहट, बारा, पर्सा, ललितपुर, कास्की, कपिलवस्तु, गुल्मी र बाँकेमा एक–एक स्थानमा भएको छ।
धेरैजसो आगजनी असावधानीका कारण भएको प्राधिकरणले जनाएको छ। गाइगोठमा खोले पकाउने, सुँगुरका लागि चारो तताउने, ग्यास चुल्होको प्रयोग, विद्युत् सर्ट, तथा विद्युतीय सवारीसाधनमा एकाएक आगो लाग्नेजस्ता कारणहरू प्रमुख देखिएका छन्।
प्राधिकरणका अनुसार सामान्य सावधानी अपनाएमा धेरै आगलागी घटना रोक्न सकिने भए पनि असावधानी र जनचेतनाको कमीका कारण जनधनको ठूलो क्षति भइरहेको छ।







