काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन हुनुभएको छ । परिसंघको २२औं वार्षिक साधारण सभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो ।
यसअघि वरिष्ठ उपाध्यक्ष रहनुभएका पाण्डे परिसंघको विधान अनुरुप स्वतः अध्यक्षमा चयन हुनुभएको हो ।
एक दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गरिसक्नुभएका पाण्डे २०७५ देखि परिसंघको उपाध्यक्ष बन्नुभएको थियो ।
काठमाडौंमा जन्मनुभएका पाण्डे तीन दशकदेखि निरन्तर निर्माण उद्योगमा हुनुहुन्छ । सिभिल इन्जिनियरिङ, आवास र शहरी विकास, सडक तथा पुल, जलस्रोत व्यवस्थापन, संरचनात्मक प्रबलीकरणमा दख्खल राख्नुहुने पाण्डे नेपाल आदर्श निर्माण कम्पनीका कार्यकारी निर्देशक हुनुहुन्छ ।
उहाँ हरित सामाग्री निर्माण, कृषि तथा शिक्षा क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ । परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डेलाई सपथ ग्रहण गराउनुहुँदै पदभार हस्तान्तरण गर्नुभयो ।







