काठमाडौँ । स्थापित चुइङ्गम ब्रान्ड ‘सेन्टर फ्रुट’सँग झुक्किने गरी मिल्दोजुल्दो रहेको ठहर भएपछि उद्योग विभागले ‘पर्फेक्ट सेन्टर फिल्ज’को ट्रेडमार्क दर्ता बदर गरेको छ।
इटालीको बहुराष्ट्रिय कन्फेक्सनरी कम्पनी पर्फेट्टी भ्यान मेली एसपीएको ‘सेन्टर फ्रुट’ ट्रेडमार्कसँग मिल्दोजुल्दो चिन्ह प्रयोग भएको भन्दै सर्वोच्च अदालतमा पुगेको विवादमा अदालतले ‘पर्फेक्ट सेन्टर फिल्ज’ले सामान्य उपभोक्तामा भ्रम सिर्जना गर्न सक्ने निष्कर्ष निकालेको थियो।
मुद्दा नम्बर ०७७–सीआई–०३०१ मा सर्वोच्चले ट्रेडमार्कको समानता हेर्दा शब्द वा अक्षर मात्रै नभई उच्चारण, दृश्य स्वरूप, वस्तुको प्रकृति, बिक्री हुने स्थान र उपभोक्तामा पर्ने समग्र प्रभावलाई समेत आधार मान्नुपर्ने दृष्टिकोण लिएको छ।
उद्योग विभागको अभिलेखअनुसार सुनसरीको दुहबीस्थित पर्फेक्ट फुड्स प्रालिको नाममा दर्ता रहेको उक्त ट्रेडमार्क चुइङ्गम उत्पादनका लागि वर्ग ३० अन्तर्गत आवेदन नम्बर ०६१८२२ मार्फत दर्ता प्रक्रियामा गएको थियो।
पर्फेक्ट फुड्सले ‘सेन्टर’ र ‘फ्रुट’ जस्ता शब्द सामान्य प्रयोगमा आउने भएकाले आफ्नो ट्रेडमार्कबाट भ्रम सिर्जना नहुने दाबी गरेको थियो। तर अदालतले ट्रेडमार्कमा रहेका शब्दलाई अलग–अलग हेर्नुभन्दा समग्र चिन्हले उपभोक्तामा पार्ने प्रभावलाई प्राथमिकता दिएको हो।
कानुन व्यवसायी निरव ज्ञवालीका अनुसार फैसलाले स्थापित ब्रान्डसँग मिल्दोजुल्दो चिन्ह प्रयोग गरी उपभोक्तामा भ्रम सिर्जना गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने नजिर स्थापित गरेको छ।
नेपालको पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन, २०२२ ले निश्चित अवस्थामा दर्ता भइसकेका ट्रेडमार्कसमेत बदर गर्न सकिने व्यवस्था गरेको छ। बदर भएको ट्रेडमार्क प्रयोग गरी कारोबार गरेमा कानुनबमोजिम जरिवाना तथा सम्बन्धित सामान जफत हुन सक्ने व्यवस्था छ।
यस फैसलाले ट्रेडमार्क दर्ता गर्दा नाम वा शब्द फरक हुनु मात्रै पर्याप्त नहुने र स्थापित ब्रान्डको पहिचान तथा उपभोक्तामा पर्न सक्ने भ्रमलाई समेत ध्यान दिनुपर्ने सन्देश दिएको छ।







