काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा अपेक्षा अनुसार रकम जुट्न सकेको छैन ।
अर्थ मन्त्रालयका अनुसार बुधबारसम्म कोषमा आठ करोड २८ लाख रुपैयाँ मात्र जम्मा भएको छ । कोष स्थापनाको दुई महिना पूरा हुँदा पनि अपेक्षा अनुसार रकम जम्मा हुन नसकेको मन्त्रालयले जनाएको छ । सरकारले गत असोज ८ गते कोष स्थापना गरेको थियो ।
कोषमा अहिलेसम्म नेपाल लाइफ इन्स्योरेन्स र निर्माण व्यवसाय विकास परिषद्ले एक\एक करोड, एनएलजी इन्स्योरेन्सले २५ लाख रुपैयाँ दाखिला गरेका छन् । यसबाहेक निजी प्रतिष्ठानबाट ठुलो रकम प्राप्त भएको छैन ।
जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रले पनि ठुलो क्षति बेहोर्नु परेका कारण यस पटक निजी क्षेत्रले कोषमा रकम जम्मा गर्ने परिस्थिति नबनेको हो ।
जेनजी आन्दोलनका क्रममा अहिलेसम्म करिब ८० अर्ब रुपैयाँ क्षति पुगेको सरकारको प्रारम्भिक अनुमान छ । क्षतिपछिको पुनर्निर्माणका लागि आवश्यक रकमको तुलनामा अहिलेसम्म अत्यन्त न्यून मात्र रकम सङ्कलन भएको हो ।
जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड हुँदा धेरै सार्वजनिक भवनमा क्षति पुगेको छ । निजी क्षेत्रका प्रतिष्ठानमा पनि सोही किसिमको क्षति भए पनि धेरैले बिमा गरेका कारण त्यसबाट क्षतिपूर्ति पाउने अवस्था छ तर सरकारी भौतिक संरचनाको बिमा नभएका कारण सरकार स्वयम्ले यसका लागि स्रोत जुटाउनुपर्ने बाध्यता छ ।
निर्वाचन गर्नुपर्ने अवस्थामा त्यसका लागि पनि ठुलो खर्च लाग्ने र भौतिक संरचना पुनर्निर्माण गर्न थप रकम लाग्ने भएपछि सरकारले कोषबाट रकम जुटाउने निर्णय गरेको थियो ।








