काठमाडौं । सरकारले भारतीय पर्यटक तथा भारत हुँदै स्थलमार्गबाट नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकलाई सहजीकरण गर्न विदेशी सवारी साधनका लागि अनलाइन भन्सार सेवा सुरु गरेको छ।
अर्थ मन्त्रालय मातहतको भन्सार विभागले विकास गरेको उक्त प्रणालीको शुभारम्भ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक कार्यक्रमबीच गरेका हुन्।
नयाँ प्रणाली सञ्चालनमा आएपछि अब नेपालमा सवारी साधन लिएर आउने भारतीय तथा अन्य विदेशी पर्यटकले अनलाइनमार्फत आफ्नो विवरण भर्नुका साथै आवश्यक राजस्व तिर्न सक्नेछन्।
यसअघि नेपाल प्रवेश गर्ने यस्ता सवारी साधनले भन्सार नाकामै पुगेर भौतिक रूपमा अस्थायी इजाजतपत्र लिनुपर्ने व्यवस्था थियो। साथै, यात्रा अवधि सकिएपछि नवीकरणका लागि पुनः भन्सार नाकामै पुग्नुपर्ने वा जरिवाना तिर्नुपर्ने झन्झट व्यहोर्नुपर्ने अवस्था थियो।
अब भने पर्यटकहरूले घरबाटै अनलाइन प्रणालीमार्फत इजाजतपत्रका लागि आवेदन दिन, शुल्क तिर्न तथा आवश्यक प्रक्रिया पूरा गर्न सक्नेछन्।
शुभारम्भ कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेले सीमा क्षेत्रमा पर्यटकले भोग्दै आएको झन्झट हटाउने उद्देश्यले सेवा सुरु गरिएको बताए।
उनले सरकारले सुशासन, छरितो प्रशासन र गुणस्तरीय सार्वजनिक सेवा प्रदान गर्ने प्रतिबद्धताअनुसार यो कदम चालिएको उल्लेख गरे।
“पर्यटकलाई कुनै कठिनाइ नहोस्, सरकारी सेवा छिटो र सहज होस् भन्ने हाम्रो उद्देश्य हो,” उनले भने।
भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले अब नेपाल भित्रिने पर्यटकवाहक विदेशी सवारी साधनको अनुमति प्रक्रिया पूर्ण रूपमा डिजिटल भएको जानकारी दिए।
उनका अनुसार पर्यटकले आफ्ना सवारी साधनसम्बन्धी सम्पूर्ण विवरण अनलाइनमै स्वयं घोषणा गर्न सक्नेछन्, जसले प्रक्रिया थप पारदर्शी, सरल र प्रभावकारी बनाउनेछ।
राजस्व अनलाइनमार्फत वा बैंक काउन्टरबाट भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।
अनलाइन भुक्तानी गरेपछि पर्यटकले आफ्नो इमेलमा क्यूआर कोड प्राप्त गर्नेछन्। सोही क्यूआर कोड देखाएर उनीहरू भन्सार नाकाबाट सहजै नेपाल प्रवेश गर्न सक्नेछन्।
भन्सार विभागका अनुसार उक्त क्यूआर कोडका आधारमा नेपालभर यात्रा गर्न सकिनेछ। साथै, यात्रा अवधि सकिएमा नेपालभित्रैबाट अनलाइनमार्फत अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ।
यो सेवा प्रयोग गर्न भन्सार विभागको वेबसाइटमा गई ‘हाम्रा सेवाहरू’ अन्तर्गत रहेको ‘टीआईभी’ शीर्षकमा क्लिक गरी आवश्यक विवरण भर्नुपर्नेछ।
सम्पूर्ण विवरण अद्यावधिक भएपछि प्रणालीले क्यूआर कोड उपलब्ध गराउनेछ, जसका आधारमा शुल्क तिरेर नेपाल प्रवेश गर्न सकिनेछ।
भन्सार विभागका अनुसार नेपाल राष्ट्रिय एकद्वार प्रणालीअन्तर्गत विदेशी सवारी साधनको अस्थायी आयात व्यवस्थापनका लागि ‘टीआईभी मोड्युल’ विकास गरिएको हो।
हाल यो सेवा भारत तथा बंगलादेशबाट स्थलमार्ग हुँदै नेपाल आउने पर्यटक सवारीका लागि लागू गरिएको छ।
विभागले चिनियाँ नाका हुँदै सवारीसहित पर्यटक आवागमन सुरु भएमा उनीहरूलाई पनि यही सेवा उपलब्ध गराइने जनाएको छ।

ADVERTISEMENT