काठमाडौं । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दामा बिहीबारका लागि पेसी तोकिएको छ। कात्तिक २७ गते भएको सुनुवाइमा सर्वोच्च अदालतबाट मूल अभियोगको सक्कल मिसिल मगाउने आदेश भएको थियो।

गत बिहीबार तुलसीपुर उच्च अदालत, बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले मूल अभियोग मिसिल मगाउने आदेश दिएको थियो। मूल मुद्दाको सक्कल मिसिल प्राप्त भएपछि बिहीबारका लागि पेशी तोकिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार  न्यायाधीशद्वय मिलनकुमार राई र सानुमाया डंगोलको संयुक्त इजलासको क्रम संख्या एकमा पेसी परेको छ।

ADVERTISEMENT

कात्तिक २० गते पनि आचार्य–अर्याल इजलासले सुरु मिसिल मगाउने आदेश दिएको थियो। सर्वोच्चबाट सुरु मिसिलको फाइल प्राप्त नभए पनि जिल्ला अदालतबाट प्रतिलिपि आएपछि बिहीबार पेसी चढाइएको हो। अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर अघि बढाइरहेको छ।

ADVERTISEMENT

यसअघि कात्तिक १३ गते पनि पेसी तोकिएको थियो, तर जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो। त्यसअघि न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले दुवै प्रतिवादीको मुद्दा एउटै प्रकृतिको भएकाले एकैसाथ राख्न आदेश गरेको थियो।

बिगोबमोजिमको रकम बुझाई थुनाबाहिर बसेर मुद्दा लड्न पाउने माग गर्दै लामिछानेले निवेदन दिएका थिए। उच्च अदालतले रविसँगै जोशीको फाइल पनि पेस गर्न आदेश दिएको थियो।

ADVERTISEMENT

यसअघि उच्च अदालत, बुटवलले लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको थियो। जेनजी प्रदर्शनका क्रममा तुलसीपुर उच्च अदालत, बुटवल इजलासमा आगजनी र तोडफोड भए पनि लामिछाने र जोशी दुवैको फाइल बचेको छ।