काठमाडौं । जेन–जी पुस्ताले सोमबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वसम्म विरोध प्रदर्शन गर्दैछ । सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरेपछि आक्रोशित जेनजी पुस्ताले स्वतस्फुर्त प्रदर्शन गर्न लागेको हो ।

जेनजीको आन्दोलनलाई विभिन्न संघसंस्था, नेता तथा सेलिब्रेटीहरूले समर्थन गरेका छन् । एक हिसाबले भन्दा जेनजीको आन्दोलनलाई चौतर्फी समर्थन प्राप्त भएको छ ।

ADVERTISEMENT

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह, कुलमान घिसिङदेखि कलाकार अनमोल केसीसम्मले समर्थन गरेका छन् । बालेनले जेनजी पुस्ताले देशभर गर्ने आन्दोलनमा आफ्नो भरपूर समर्थन रहेको बताएका छन् । उनले उमेरहदको कारण सो आन्दोलनमा आफू जान नमिले पनि आफूलाई जेनजी पुस्ताको कुरा बुझ्न जरुरी रहेको र सो आन्दोलनमा भरपुर समर्थन रहेको बताएका हुन् ।

उज्यालो अभियान्ता तथा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी प्रमुख घिसिङले पनि समर्थन जनाएका छन्। उनले फेसबुकमार्फत जेनजीले निकाल्ने जुलुसमा ऐक्यवद्धता जनाएका हुन् ।

चलचित्र निर्देशक निस्चल बस्नेतले आफू जेन–जीको साथमा रहेको बताउँदै टिकटक भिडियो सार्वजनिक गरेका छन् । उनले देशको कानून निसहाय र गरिब जनताको लागि मात्र लागू भएको जनाएका छन् ।

अभिनेता पल शाहले पनि अभिव्यक्ति स्वतन्त्रता खोस्ने, सामाजिक बन्द गर्ने निर्णयले स्थिति झन् गम्भीर बनाएको भन्दै जेन–जी आन्दोलनलाई समर्थन जनाएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले शान्तिपूर्ण प्रदर्शन गर्न जेन–जीहरूलाई आग्रह गरेका छन् ।

गायक प्रकाश सपूत, अमृत गुरुङको नेपथ्या ब्याण्ड, गायिका रचना रिमाल, एलिना चौहान, गायक दुर्गेस थापालगायत थुप्रै सेलिब्रेटीले समस्थन गरेका छन् ।

नातावाद, भ्रष्टाचार र सामाजिक सञ्जालको प्रतिबन्धबिरुद्ध जेन–जीले घोषणा गरेको देशव्यापी आन्दोलनमा सत्तारूढसहित विपक्षी दलहरूले भने केही बोलेका छैनन् । रास्वपाका सभापति रवि लामिछानेले भने कारागारबाटै ऐक्यवद्धता जनाएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईले पनि आन्दोलनमा समर्थन रहेको बताएका छन् ।

विद्यार्थी पोसाक लगाएर परिचयपत्रसहित माइतीघर मण्डलामा उपस्थित भएर देशमा व्याप्त भ्रष्टाचार र बेतिथि अन्त्यका लागि खबरदारी गर्न सुरु गरिसकेका छन् । उनीहरूले आफ्नो आन्दोलनमा कुनै पनि राजनीतिक दल वा नेताको नेतृत्व नरहने बताएका छन् । आन्दोलनमा जेनजी पुस्ता तथा विद्यार्थी मात्रै सहभागी भएका छन् । जताततैबाट जेनजीकाे आन्दाेलनलाई समर्थन प्राप्त भएपछि साेमबार राजधानीकाे सुरक्षा व्यवस्था कडा पारिएकाे छ ।