काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई राजनीतिमा किनारा लागिसकेका छन् । स्थिर भएर बस्न नरुचाउने बाबुराम दलबदलमा माहिर छन् । अहिलेसम्म उनले पाँचवटा दल फेरिसकेका छन् । निकट भविष्यमा उनी रास्वपा प्रवेश गरे आश्चर्य नहुने उनी निकट नेताहरु नै बताउँछन् ।

माओवादीमा हुँदा अर्थमन्त्री र प्रधानमन्त्रीसमेत बनेका बाबुराम त्यसपछि भने सांसद जित्न नसक्ने अवस्थामा पुगिसकेका छन् । अहिले उनी रास्वपा सभापति रवि लामिछानेको प्रशंसा गर्न रुचाउँछन् । कहिले रविलाई राज्यले प्रतिशोध साँध्यो भन्छन्, कहिले जेलमै पुगेर भेट्छन् ।

ADVERTISEMENT

शुक्रबार उनी रास्वपाले आयोजना गरेको ‘बृहत् राजनीतिक संवाद’ कार्यक्रममा सहभागी भए । बालुवाटारस्थित नेपाल हाउसमा भएको कार्यक्रममा भट्टराईसहित विभिन्न राजनीतिक दल, समूह, अभियन्ता र स्वतन्त्र व्यक्तिहरूको उपस्थिति थियो । कार्यक्रममा प्रस्तावित नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशम चौधरी, हाम्रो नेपाली पार्टीका अनन्तराज लुइँटेल, विवेकशील साझाका उपाध्यक्ष प्रकाशचन्द्र परियारलगायत सहभागी भएका थिए ।

ADVERTISEMENT

भट्टराईले रवि लामिछानेलाई कुनै माध्यमबाट जेलमुक्त गरी उनकै नेतृत्वमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्नुपर्नेमा जोड दिए। उनले कांग्रेस र कम्युनिष्टजस्ता पुराना दलहरूलाई परास्त गर्न सबै नयाँ शक्तिहरू एक ठाउँमा उभिनुको विकल्प नभएको बताए।

‘रविजीलाई पनि निकालौँ कुनै तरिकाले, उहाँको एउटा नेतृत्वको पनि आवश्यकता छ,’ भट्टराईले भने, ‘उहाँको जुन मुद्दा छ, त्यसलाई बाहिर नै रहेर फेस गर्ने वातावरण बन्न सक्दाखेरि उहाँको क्षमता, प्रतिभाको प्रयोग पनि हुन सक्थ्यो।’

ADVERTISEMENT

उनले पुराना शक्तिहरूको जरो उखेल्न सजिलो नभएको बताउँदै भने, ‘कांग्रेस र कम्युनिष्ट भन्ने जुन दुईटा धार छन्, त्यो ००७ सालदेखि बनेको, तिनको जरो तलसम्म झाँगिएको छ। अहिले हल्लन त हल्लिएको छ, तर त्यो पूरै उखेलिएको छैन।’