काठमाडौं । कांग्रेस सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुने भएका छन् ।
आइतबार बिहान मात्रै सामाजिक सञ्जालमार्फत रास्वपा र सभापति रवि लामिछानेलाई बधाई दिएका थापा महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन जान लागेका हुन् । थापाका सहयोगी जीवन भण्डारीले गगन महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी बन्न जान लागेको जानकारी दिए । सत्तारुढ रास्वपाले अन्य दलहरूलाई महाधिवेशनको उद्घाटनमा सहभागी हुन निम्तो दिएको थियो ।
रास्वपा महाधिवेशन आज चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा उद्घाटन हुँदै छ । महाधिवेशनका लागि रास्वपाका नेताहरू सहभागी हुने क्रम जारी रहेको छ ।
रास्वपा वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाह महाधिवेशनमा सहभागी हुन चितवन पुगेका छन् । उनी छोरीलाई साथ लिएर भरतपुर पुगेका छन् ।
पहिलोपटक प्रधानमन्त्री बालेन, रास्वपा सभापति लामिछाने र कांग्रेस सभापति थापा एउटै मञ्चमा देखिने भएका छन् । जसले रास्वपाको महाविशेनको चर्चा ह्वात्तै बढाएको छ । बालेन, रवि र गगन ए उटै मञ्चमा देखिएमा याे घटनाले नेपालकाे राजनीतिक परिदृश्य फेरिने अनुमान गरिएकाे छ ।










