पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले सुत्केरी आमालाई पोषणका लागि लोकल कुखुराको एउटा भाले र नवजात शिशुलाई नयाँ कपडा उपलब्ध गराउने अभियान सञ्चालन गर्ने भएको छ ।
क्षेत्रीय समितिले आर्थिक रूपमा विपन्न तथा दलित समुदायका ३१ वर्षमुनिका सुत्केरी आमा र नवजात शिशुलाई लक्षित गरी एक वर्षसम्म ‘आमा–शिशु साथ अभियान’ सञ्चालन गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेस कास्की–१ को नवनिर्वाचित समितिका पदाधिकारी तथा सदस्यको पदस्थापनापछि बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको सभापति सरोज केसीले जानकारी दिए ।
अभियानअन्तर्गत बच्चा जन्मिएको ११ दिनभित्र सहयोग आवश्यक पर्ने परिवारको पहिचान गरिनेछ । पहिचान भएका परिवारलाई सम्भव भएसम्म २४ घण्टाभित्रै सहयोग उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
सुत्केरी आमाको पोषणका लागि स्थानीय लोकल कुखुराको एउटा भाले र नवजात शिशुका लागि मौसमअनुसार उपयुक्त दुईदेखि तीन थान नयाँ कपडा प्रदान गरिनेछ । आर्थिक अवस्था अत्यन्त कमजोर भएका अन्य परिवारलाई पनि आवश्यकताका आधारमा सहयोग गर्न सकिने निर्णयमा उल्लेख छ ।
सभापति केसीका अनुसार सुत्केरी आमा र नवजात शिशुलाई आवश्यक परेको समयमा सानो भए पनि तत्काल व्यावहारिक सहयोग पुर्याउनु अभियानको मुख्य उद्देश्य हो ।
अभियानका लागि क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्यको स्वैच्छिक योगदान र इच्छुक शुभेच्छुकको सहयोगबाट स्रोत जुटाइनेछ । सहयोग प्राप्त गर्न कुनै राजनीतिक आबद्धता वा पार्टी सदस्यताको सर्त राखिने छैन ।
कार्यक्रमलाई पारदर्शी र निष्पक्ष बनाउन कार्यविधि तयार गर्ने, सहयोगको अभिलेख राख्ने तथा नियमित समीक्षा गर्ने निर्णयसमेत गरिएको छ ।
अभियानले विपन्न परिवारलाई तत्काल सहयोग पुर्याउनुका साथै मातृ तथा शिशु पोषण र आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराउने लक्ष्यसमेत राखेको कांग्रेस कास्की–१ ले जनाएको छ ।









