काठमाडौं । चालु आर्थिक वर्ष ०८२/०८३ को तीन महिनामा २० वाणिज्य बैंकले १४ अर्ब ८० करोड ७५ लाख नाफा आर्जन गरेका छन् । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरुले सो नाफा कमाएका हुन् ।
राष्ट्र बैंकको तथ्यांक अनुसार सबैभ न्दा धेरै नाफा आर्जन गर्ने पहिलो नम्बरमा ग्लोबल आईएमई बैंक रहेको छ । बैंकले तीन महिनामा १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ कमाएको छ ।
तीन महिनामा दोस्रो धेरै नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको छ । बैंकले असोज महिनामा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ ।
त्यस्तै तेस्रो धेरै नाफा कमाउनेमा प्राइम कमर्सियल बैंक रहेको छ । बैंकले असोजसम्ममा १ अर्ब २५ करोड८४ लाख रुपैयाँ आर्जन गरेको छ ।
तीन महिनामा धेरै नाफा कमाउनेको चौथो नम्बरमा एभरेष्ट बैंक लिमिटेड रहेको छ । बैंकले तीन महिनामा १ अर्ब १९ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको छ । पाँचौ नम्बरमा कुमारी बैंक लिमिटेड परेको छ । बैंकले तीन महिनामा १ अर्ब ६ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको छ ।
हिमालयन बैंक लिमिटेडले असोज महिनामा ७० करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ भने प्रभु बैंकले ५५ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । तीन महिनामा नेपाल इनभेष्मेन्ट मेगा बैंकले ४ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ ।
यस्तै, एनएमबी बैंकले ९१ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गर्दा लक्ष्मी सनराइज बैंकले ३३ करोड २३ लाख नाफा आर्जन गरेको छ । असोज महिनासम्ममा एनआईसी एशिया बैंकले १२ करोड २१ लाख रुपैयाँ नाफा कमाउँदा सानिमा बैंक लिमिटेडले ७२ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ ।
माछापुछ्रे बैंकले ४१ करोड ७९ लाख नाफा कमाउँदा सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५९ करोड ८७ लाख नाफा कमाएको छ ।
त्यस्तै, नेपाल बैंक लिमिटेडले ५८ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गर्दा विदेशी लगानीको स्ट्यार्डड चार्टर बैंकले ६९ करोड २१ लाख नाफा आर्जन गरेको छ । नेपाल एसबीआई बैंकले ५० करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने सिद्धार्थ बैंक लिमिटेडले ३२ करोड ४० लाख नाफा कमाएको छ ।
सिटिजन्स इन्टरनेश्नल बैंकले ५५ करोड ७६ लाख नाफा कमाएको छ भने कृषि विकास बैंकले ५८ करोड ९८ लाख नाफा कमाएको छ ।







