काठमाडौं। सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकबाट ३७ हजारभन्दा बढी ग्राहकले सहुलियतपूर्ण कर्जा लिएका छन्। सरकारले लक्षित वर्ग तथा क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रवाहका लागि ब्याज अनुदान उपलब्ध गराउँदै आए पनि वाणिज्य बैंकमार्फत यस्तो कर्जाको ठूलो हिस्सा अझै परिचालन हुन बाँकी रहेको देखिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा ३७ हजार ८४४ जना ऋणीले सहुलियतपूर्ण कर्जा लिएका छन्।

ADVERTISEMENT

राष्ट्र बैंकले सार्वजनिक गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (तेस्रो संशोधनसहित)’ बमोजिम सहुलियतपूर्ण कर्जा उपयोग गरेका बैंकहरूले उपलब्ध गराएको तथ्यांकअनुसार ३७ हजार ८४४ जना ऋणीका लागि वाणिज्य बैंकहरूले कुल ५७ अर्ब ११ करोड २२ लाख रुपैयाँ कर्जा स्वीकृत गरेका छन्।

ADVERTISEMENT

तर, स्वीकृत कर्जा रकममध्ये चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा २८ अर्ब ८८ करोड ३१ लाख रुपैयाँ मात्रै बक्यौता कर्जाका रूपमा लगानीमा रहेको छ। राष्ट्र बैंकका अनुसार स्वीकृत कर्जा र बक्यौता रकमबीच करिब २८ अर्ब २३ करोड रुपैयाँको अन्तर रहेको छ। यसको अर्थ सहुलियतपूर्ण कर्जाका नाममा स्वीकृत भएको ठूलो रकम पूर्ण रूपमा कर्जा प्रवाहमा परिणत नभएको देखिन्छ।

राष्ट्रिय वाणिज्य बैंकबाट सबैभन्दा धेरै ऋणी

राष्ट्र बैंकका अनुसार २० वटा वाणिज्य बैंकमध्ये सहुलियतपूर्ण कर्जा लिने ऋणीको संख्याका आधारमा राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडि रहेको छ। यस बैंकबाट ५ हजार ११५ जना ऋणीले कर्जा लिएका छन्। बैंकले उनीहरूका लागि ६ अर्ब ९२ करोड रुपैयाँभन्दा बढी कर्जा स्वीकृत गरेकोमा ४ अर्ब ६१ करोड ९४ लाख रुपैयाँ बक्यौता रहेको छ।

ADVERTISEMENT

यसैगरी, कृषि विकास बैंकमा पनि सहुलियतपूर्ण कर्जा लिने ऋणी ग्राहकको संख्या ५ हजार ८० जना रहेको छ। बैंकले ७ अर्ब ९५ करोड १७ लाख रुपैयाँ कर्जा स्वीकृत गरेकोमा ४ अर्ब १० करोड ९६ लाख रुपैयाँ बक्यौता रहेको छ।

त्यस्तै, लक्ष्मी सनराइज बैंकबाट ४ हजार ३९७, नेपाल बैंकबाट ४ हजार २३१ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट ३ हजार ७७४ जना ऋणीले सहुलियतपूर्ण कर्जा लिएका छन्।

नबिल बैंकका ३ हजार ११६ जना ऋणी छन् भने ग्लोबल आइएमई बैंकका २ हजार १३३, एनएमबी बैंकका १ हजार ४८३, सानिमा बैंकका १ हजार २५५ र कुमारी बैंकका १ हजार १७८ जना सहुलियतपूर्ण कर्जाका ऋणी रहेका छन्।

कुन बैंकले कति कर्जा स्वीकृत गरे?

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा कृषि विकास बैंकले ७ अर्ब ९५ करोड १७ लाख, राष्ट्रिय वाणिज्य बैंकले ६ अर्ब ९२ करोड, लक्ष्मी सनराइज बैंकले ६ अर्ब २८ करोड ७१ लाख, नेपाल बैंकले ६ अर्ब १८ करोड १६ लाख र नबिल बैंकले ५ अर्ब १८ करोड ७४ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत गरेका छन्।

यसैगरी, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३ अर्ब ९८ करोड ४५ लाख, एनएमबी बैंकले ३ अर्ब ११ करोड ३७ लाख, कुमारी बैंकले ३ अर्ब ६१ करोड र ग्लोबल आइएमई बैंकले ३ अर्ब १७ करोड ५३ लाख रुपैयाँ कर्जा स्वीकृत गरेका छन्।

बक्यौता कर्जामा राष्ट्रिय वाणिज्य बैंक अगाडि

चालु आर्थिक वर्षको साउन मसान्तसम्मको बक्यौता कर्जातर्फ राष्ट्रिय वाणिज्य बैंक ४ अर्ब ६१ करोड ९४ लाख रुपैयाँसहित अगाडि रहेको छ।

कृषि विकास बैंकको ४ अर्ब १० करोड ९६ लाख, नेपाल बैंकको ३ अर्ब ९ करोड ८५ लाख, नबिल बैंकको २ अर्ब ६१ करोड २३ लाख र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १ अर्ब २८ करोड ३६ लाख रुपैयाँ बक्यौता रहेको छ।

चार बैंकमा ऋणीको संख्या न्यून

राष्ट्र बैंकका अनुसार चार वटा वाणिज्य बैंकमा भने सहुलियतपूर्ण कर्जाका ऋणीको संख्या निकै न्यून देखिएको छ।

तीमध्ये एनआईसी एशिया बैंकमा जम्मा ६ जना मात्र ऋणी रहेका छन्। बैंकले ९ करोड ३ लाख ४० हजार रुपैयाँ कर्जा स्वीकृत गरेकोमा ७ करोड ४५ लाख २८ हजार रुपैयाँ बक्यौता रहेको छ।

यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा १७ जना, नेपाल एसबीआई बैंकमा २७३ जना र सिटिजन्स बैंकमा ४७० जना सहुलियतपूर्ण कर्जाका ऋणी रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन बैंकले कति ग्राहकलाई दियो सहुलियतपूर्ण कर्जा?