काठमाडौं — सरकारले करिब दुई महिनादेखि रिक्त रहेको राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिलाई पूर्णता दिने तयारी गरेको छ। अर्थ मन्त्रालयका सहसचिव सुमन दाहालसहित चार जनालाई सञ्चालक नियुक्त गर्ने निर्णय अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ।

अर्थ मन्त्रालयका प्रतिनिधिका रूपमा नियुक्त हुन लागेका दाहालले बैंकको अध्यक्षको जिम्मेवारी पनि सम्हाल्नेछन्। त्यस्तै आस्था भट्ट, होमबहादुर आले र भुरन ठाकुरलाई पनि सञ्चालक नियुक्त गर्ने टुंगो लागेको छ। उनीहरूले यसै साताभित्र औपचारिक नियुक्ति र सपथपछि जिम्मेवारी सम्हाल्ने अपेक्षा गरिएको छ।

गत वैशाख २४ गते तत्कालीन अध्यक्ष देवकुमार ढकालसहित अन्य सञ्चालकहरूले राजीनामा दिएपछि बैंकको सञ्चालक समिति लगभग रिक्त बनेको थियो। हाल स्वतन्त्र सञ्चालक लक्ष्मण घिमिरे मात्र पदमा रहेका छन्।

ADVERTISEMENT

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पूँजी वृद्धि गर्ने घोषणा गरिसकेको छ। नयाँ सञ्चालक समिति गठनसँगै नीतिगत निर्णय, ठूला ऋण स्वीकृति, आगामी वर्षको नीति तथा कार्यक्रम तयारी, साधारणसभा सञ्चालनलगायतका कार्य सहज हुने विश्वास बैंकले गरेको छ।

ADVERTISEMENT