काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो क्वालिफायर खेलमा आज अपराह्न ४:०० बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै छन्। फाइनल प्रवेशको लागि दुवै टोलीका लागि यो खेल निर्णायक मानिएको छ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायरमार्फत फाइनलमा प्रवेश गर्ने अन्तिम मौका पाएको हो। अर्कोतर्फ, लुम्बिनीले इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरको यात्रा तय गरेको हो।

लिग चरणमा यसअघि लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको थियो, जसले आजको खेलमा लुम्बिनीको आत्मविश्वास बढाएको छ। तर नक्कारात्मक परिस्थितिबाट फर्किन सक्षम विराटनगरले आजको महत्वपूर्ण खेलमा बलियो चुनौती दिने अनुमान गरिएको छ।

आज विजयी हुने टोलीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग मङ्सिर २७ गते हुने फाइनलमा भिड्नेछ।

दुवै टोलीको नजर फाइनलमा स्थान पक्का गर्दै एनपिएल उपाधितर्फ अग्रसर हुनेतर्फ केन्द्रित हुनेछ।