काठमाडौं । युवा नेतृ रामकुमारी झाँक्री अन्ततः एमाले प्रवेश गरेकी छन् । सोमबार एमालेले राष्ट्रिय सभा गृहमा आयोजना गरेको ‘घर फर्क अभियान’ मा एकीकृत समाजवादीकी पूर्वसचिव झाँक्री, केन्द्रीय सदस्य किसान श्रेष्ठ एमाले प्रवेश गरेका हुन् ।
झाँक्री, श्रेष्ठसहित दुई दर्जन नेता कार्यकर्तालाई एमाले अध्यक्ष केपी ओलीले स्वागत गरेका थिए । जेनजी आन्दोलनपछि पहिलोपटक ओली राष्ट्रिय सभा गृह पुगेका हुन् ।
एमालेबाट साढे तीन वर्षअघि विद्रोह गरेर एकीकृत समाजवादी गठन गर्न माधवकुमार नेपाललाई नेतृ झाँक्रीले महत्वपूर्ण साथ र सहयोग गरेकी थिइन् । तर केही समयपछि नै दुवैको सम्बन्ध बिग्रियो । माधव नेपालले माओवादीसँग पार्टी एकता गरेपछि झाँक्री पुरानै घर फर्केकी हुन् । उनलाई एमाले फर्काउन योगेश भट्टराई, महेश बस्नेतलगायतको भूमिका रह्यो ।
एमाले फर्किने निर्णय लिएसँगै झाँक्रीको आलोचना र विरोध भइरहेको छ । हिजो ओलीलाई निकृष्ट गालीगलौज गर्ने रामकुमारी कुन मुखले एमालेमा फर्किएको होला भन्दै उनको आलोचना भइरहेको छ ।
एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी गठन गरेपछि रामकुमारीको राजनीतिक हाइट निकै बढेको थियो । तर झाँक्रीले भविष्यको राजनीति हेरेर एमालेमा फर्किएको विश्लेषण हुन थालेको छ ।
एमाले फर्किनेमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमल्सिना, राजाराम स्याङतान, बबी चाम्लिङ, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई र अम्बिका राई छन् ।








