काठमाडौं । एमालेले विघटित प्रतिनिधिसभाको संसदीय दलको बैठक बोलाएको छ।

मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा छलफल गर्न बैठक राखिएको एमालेका नेता महेश बर्तौलाले जानकारी दिए ।

ADVERTISEMENT

संसदीय दलको बैठक आगामी मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा पनि बर्तौलाले प्रमुख सचेतकको हैसियतमा बैठक बोलाएका हुन् ।

‘मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागी निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा छलफल गर्न २०८२ मंसिर २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमाले संसदीय दलको बैठक आयोजना गरिएको जानकारी गराउन चाहन्छु,’ बर्ताैलाले पठाएको प्रेस नोटमा उल्लेख छ ।

ADVERTISEMENT

एमालेले प्रतिनिधिसभा पुनःस्थापनाका लागि निवर्तमान सांसदहरूको हस्ताक्षर पनि संकलन गरिसकेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद् विघटनसम्बन्धी सुनुवाइ जारी रहेकाले एमालेले हस्ताक्षर अभियान चलाएको हो ।

कांग्रेसमा भने केही निवर्तमान सांसदले हस्ताक्षर संकलन गर्न लागेपछि बबाल मच्चिएको छ । कार्यबाहक सभापति पूर्णबहादुर खड्काले कसको निर्देशनमा हस्ताक्षर अभियान चलाइएको भन्दै नेताहरूलाई झपारेका छन् ।

निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेको अगुवाइमा विघटित प्रतिनिधिसभा सांसदहरूको हस्ताक्षर संकलन सुरू गरिएको हो।

सभापति शेरबहादुर देउवा पक्षका केही निवर्तमान सांसदहरूले हस्ताक्षर गरे पनि नेता शेखर कोइराला तथा महामन्त्री गगन थापानिकट निवर्तमान सांसदहरूले हस्ताक्षर अभियानलाई सहयोग गरेनन्। कार्यवाहक सभापति खड्कानिकट घिमिरेले हस्ताक्षर अभियान सञ्चालनको अगुवाइ गरेपछि उनीसँग खड्का रिसाएका हुन् । घिमिरेले यो कुरा स्वीकार गरेका छन् ।

कांग्रेस महामन्त्री गगन थापाले सोमबार फागुन २१ मै आमनिर्वाचन हुने भनेर स्पष्ट पारिसकेका छन् । पार्टीका केही सांसद हस्ताक्षर अभियानमा जुटेपछि थापाले चुनावमा जाने बताएका हुन् । उनले सोमबारै मतदाता नामावलीमा नाम लेखाउन अपिल पनि गरेका छन् ।