काठमाडौं,  ताजिकिस्तानस्थित आइनी एयरबेसबाट भारतले आफ्नो सैनिक उपस्थिति अन्त्य गरेको छ। करिब दुई दशकअघि भारतले ठूलो लगानी गरी सञ्चालनमा ल्याएको यो एयरबेसबाट फिर्ता भएपछि मध्य एसियामा नयाँ रणनीतिक शक्ति समीकरण उभिएको विश्लेषण गरिएको छ।

सन् २००२ मा भारतले ताजिकिस्तानसँगको सहकार्यमा आइनी एयरबेस पुनर्निर्माण गरेको थियो। अफगानिस्तान, चीनको सिन्जियाङ र पाकिस्तानको सीमा नजिक अवस्थित यो एयरबेस भारतको विदेशस्थित एकमात्र प्रमुख सैन्य अड्डा थियो। यसले भारतलाई मध्य एसियामा सुरक्षा र निगरानी पहुँचदिदै आएको थियो।

तर हाल ताजिकिस्तानले भारतसँगको एयरबेस संचालन सम्झौता नवीकरण नगरेपछि त्यहाँ बाट भारत फिर्ता हुनु परेको हो।  ताजिकिस्तान माथि  रूस तथा चीनको तीव्र दबाबपछि उसले उक्त सम्झौता नवीकरण नगर्ने  निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। ताजिकिस्तानमा चीन र रूस दुवै देशको गहिरो प्रभाव छ रूससँगको सैन्य सहकार्य र चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI) अन्तर्गत लगानीका कारण ताजिकिस्तानले भारतसँगको दूरी बढाएको विश्लेषकहरूको भनाइ छ।

यसअघि आइनी हवाई अड्डाको पुनर्निर्माणका लागि भारतले करिब ७ करोड अमेरिकी डलर खर्च गरेको थियो। यो हवाई अड्डा भारतले मिग–२९ लडाकु विमान सञ्चालनका लागि संरचना तयार गरेको र सैनिक तालिमसमेत सञ्चालन गरेको थियो। तर पछिल्ला वर्षहरूमा अफगानिस्तानबाट अमेरिकी फिर्ती र तालिबान सत्तामा आएपछि  भारतको सो क्षेत्रमा रणनीतिक उपयोग घट्दै गएको थियो।

स्रोतहरूका अनुसार सम्झौता २०२२ मा समाप्त भएपछिनै भारतले क्रमशः उपकरण र जनशक्ति फिर्ता गर्न थालेको थियो। यो फिर्तीको कारण भारतका लागि केवल सम्झौता समाप्तिको मात्र नभई  क्षेत्रीय शक्ति सन्तुलनमा आएको परिवर्तनको परिणाम पनि हो।

रूस र चीनले मध्य एसियामा आफ्नो प्रभाव र उपस्थिति मजबुत पारिरहेका बेला भारतको फिर्तीले उनीहरूको रणनीतिक हैसियत अझ बलियो बनेको बताइन्छ। चीनले ताजिकिस्तानसँगको सीमापारी आफ्नो सैन्य चौकीहरू निर्माण गरेको छ भने रूसले आफ्नो २०१औँ सैन्य टोलि त्यहाँ तैनाथ राखेको छ।

विश्लेषकहरू भन्छन् भारतको यो फिर्तीले अफगानिस्तान, मध्य एसिया र दक्षिण एसियामा उसले बनाएको सुरक्षा ‘आर्क’ कमजोर बनाएको छ। भारतले अब वैकल्पिक रणनीति अन्तर्गत इरानको चाबहार बन्दरगाह र सागरमार्गीय पहुँचमा बढी ध्यान दिनुपर्ने देखिन्छ।

यो घटनाले मध्य एसियामा नयाँ “ग्रेट गेम” सुरु भएको सङ्केत गरेको छ जहाँ चीन, रूस, र अब टर्कीको प्रभाव बढ्दो छ बहने  भारतको उपस्थिती निरन्तर घट्दै गएको छ।

भारतको विदेश मन्त्रालयले आइनी एयरबेस फिर्तीबारे आधिकारिक टिप्पणी गरेको छैन, तर उच्च अधिकारीहरूले यो “सम्झौताअन्तर्गतको नियमित प्रक्रिया” भएको बताएका छन्। तथापि, अन्तर्राष्ट्रिय विश्लेषकहरूका दृष्टिमा यो घटनाले भारतको मध्य एसियाली प्रभावलाइ कम्जोर परेको छ ।