काठमाडौं, भदौ १४ गते । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सिप्रदी समूहअन्तर्गतका सिप्रदी ट्रेडिङ तथा भोटेकोसी पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।

कम्पनीका अनुसार बाढी प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न उक्त रकम उद्धार तथा राहत कार्य, स्वास्थ्य उपचार र बाढीका कारण क्षतिग्रस्त पूर्वाधारको पुनःस्थापनालगायतका क्षेत्रमा उपयोग हुने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

विपद्को कठिन परिस्थितिमा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सिप्रदी समूहले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्यक्ष राहत तथा सहयोग कार्यक्रमसमेत सञ्चालन गरिरहेको जनाएको छ।

ADVERTISEMENT

सिप्रदीयन सहायता संस्थामार्फत समूहका प्रतिनिधिहरू प्रभावित समुदायमा पुगेर स्थानीय आवश्यकता पहिचान गर्दै अत्यावश्यक राहत सामग्री, खाद्यान्न तथा अन्य आधारभूत सामग्री वितरण गरिरहेका छन्।

संस्थाले स्थानीय तहमा समन्वय गरी प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई प्राथमिकतामा राख्दै आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ।

ADVERTISEMENT

सिप्रदी समूहले राष्ट्रिय संकटका समयमा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै आएको र विपद्को यस कठिन घडीमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोगमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।