काठमाडौं — केही साताअघि भएको युद्धविराम र अस्थायी समझदारी कमजोर बन्दै जाँदा अमेरिका र इरानबीच फेरि प्रत्यक्ष सैन्य तनाव चुलिएको छ। दुवै पक्षले एकअर्कामाथि आक्रमण र युद्धविराम उल्लंघनको आरोप लगाउँदै सैन्य गतिविधि तीव्र पारेका छन्।

अमेरिकाले इरानका हवाई प्रतिरक्षा प्रणाली, क्षेप्यास्त्र प्रक्षेपणस्थल, नौसैनिक अड्डा, बन्दरगाह, रेलमार्ग तथा अन्य सामरिक पूर्वाधारमा आक्रमण गरेको जनाएको छ। यसको जवाफमा इरानले अमेरिकी सैन्य गतिविधि जारी रहे मध्यपूर्वका अमेरिकी सैन्य अड्डाहरू पनि निशानामा पर्ने चेतावनी दिएको छ।

ADVERTISEMENT

कतारी सञ्चारमाध्यम अल जजिराका अनुसार पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिका क्रममा पनि अमेरिकी आक्रमण जारी रहेपछि इरानी नेतृत्वले प्रतिरोधको नीति नत्याग्ने संकेत दिएको छ।

ADVERTISEMENT

इरानले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउँदै संयुक्त राष्ट्रसंघको बडापत्र उल्लंघन भएको दाबी गरेको छ। राष्ट्रसंघले भने दुवै पक्षलाई संयम अपनाउन र कूटनीतिक समाधान खोज्न आग्रह गर्दै आएको छ।

यसैबीच, साउदी अरेबिया र इरानका विदेशमन्त्रीबीच पछिल्लो सुरक्षा अवस्थाबारे टेलिफोन वार्ता भएको छ। अन्तर्राष्ट्रिय समुदायले पनि दुवै पक्षलाई तनाव नबढाउन र वार्तामा फर्किन आग्रह गरिरहेको छ।

ADVERTISEMENT

विश्लेषकहरूका अनुसार द्वन्द्व थप फैलिएको अवस्थामा विश्वको करिब २० प्रतिशत कच्चा तेल ओसारपसार हुने होर्मुज जलडमरूमध्य प्रभावित हुन सक्ने जोखिम छ। त्यसले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि, आपूर्ति शृंखलामा अवरोध तथा खाद्य र ऊर्जा सुरक्षामा गम्भीर असर पार्न सक्ने चेतावनी दिइएको छ।