काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङसहितको टोलीले हिजो लक्ष्मीपूजाको दिन भारप्रेषण केन्द्र पुगेर विद्युतको माग र आपूर्ति व्यवस्थापनबारे जानकारी लिएको छ ।

राति अबेर नेपाल विद्युत प्राधिकरणको काठमाण्डौ स्यूचाटारमा रहेको प्रेषण केन्द्रको नियन्त्रण कक्ष पुगेर टोलीले समग्र देशभरको विद्युत् आपूर्तिका बारेमा जानकारी लिनुका साथै आवश्यक निर्देशन पनि गरेको ऊर्जामन्त्री घिसिङको सचिवालयले जनाएको छ ।

ऊर्जा, जलस्रोत मन्त्रालयका सचिव चिरञ्जीवी चटौत, विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल, मन्त्रालयका सहसचिवहरू, विद्युत् विकास विभागका महानिर्देशन, प्राधिकरणका कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशकलगायत टोली विद्युत् र आपूर्ति अवस्थाका बारेमा जानकारी लिएको थियो ।

प्राधिकरणले यसवर्ष लक्ष्मीपूजाका दिन देशभर बिनाअवरोध विद्युत् आपूर्ति भएको समेत जनाएको छ । प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत् अवरोध हुन नदिन वितरण केन्द्र, विद्युत् गृहका प्रमुख र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।

२०७३ सालको लक्ष्मीपूजाको दिनदेखि परीक्षणका रूपमा काठमाण्डौ उपत्यकाबाट लोडसेडिङ अन्त्यको शुरुआत गरेको थियो ।