काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चितवनको चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा लोडसेडिङ भन्दै आएको समाचारप्रति आपत्ति जनाएको छ । प्राधिकरणले आइतबार दिउँसो विज्ञप्ति नै निकालेर लोडसेडिङ नभई मर्मत सम्भार गर्नुपर्ने भएकाले केही दिन विद्युत अवरुद्ध हुने प्रस्ट पारेको छ ।
चनौली वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापनका सम्बन्धमा एक दिनका लागि निकालेको लोड व्यवस्थापन तालिकाले सिर्जना गरेको अन्यौल र त्यसैलाई लिएर केही सञ्चारमाध्यमहरु र सामाजिक सञ्जालमा व्यक्त धारणाप्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको उसले जनाएको छ ।
लोडसेडिङ नेपालका लागि इतिहास भएको र सही समाचार सम्प्रेषण गर्दा गरिएको अतिरञ्जनाले यो फर्किने अवस्था नरहेको हुँदा गलत आशयका साथ छरिएको भ्रमबाट आम उपभोक्ताहरुमा पर्न गएको अन्योलप्रति प्राधिकरण सचेत रहेको जनाएको छ ।
‘चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा देखिएको समस्या केवल प्राविधिक समस्या मात्र भएको र समस्या समाधानका लागि प्राधिकरण अहोरात्र खटिएको हुँदा दुई तीन दिनभित्र निरन्तर विद्युत आपूर्ति हुने व्यहोरा जानकारी गराउँदछौ,’ प्राधिकरणको विज्ञप्तिमा भनिएको छ, ‘प्राधिकरणकै जिम्मेवारी पदाधिकारीद्वारा यस अवस्थालाई लोडसेडिङ भन्न नमिल्ने र बुधवारसम्ममा समस्या समाधान भइसक्ने कुरा उल्लेख भए पनि यसको विपरित मुख्य शीर्षकमा लोडसेडिङ उल्लेख हुनु आफैमा दुःखद् र कुनै पनि दृष्टिले न्यायोजित नभएको सञ्चार जगतसमक्ष निवेदन गर्दछौं।’
चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा विद्युत आपूर्ति गर्ने चनौली ३३११ केभीए सवस्टेशनमा न्यू भरतपुर (वसेनी) सवस्टेशनवाट आउने ३३ केभी लाइनमा बढेको अत्याधिक लोडको कारण सिर्जित समस्या समाधानका लागि कार्य भइरहेको प्राधिकरणले जनाएको छ । चनौली क्षेत्रको मागलाई दीर्घकालीन व्यवस्थापन गर्न वसेनी १३२ केभी सवस्टेशनबाट चनौली सवस्टेशनसम्म नयाँ ३३ केभी लाइन निर्माण कार्य अन्तिम चरणमा रहेको र सो लाइन निर्माण पश्चात यो समस्या दीर्घकालीन रुपमा समाधान हुने प्राधिकरणले दाबी गरेको छ ।






