काठमाडौं । स्वास्थ्य बीमा नवीकरण गर्दा थप शुल्क नलाग्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले सूचना जारी गर्दैै बिमितले बीमा गर्न ढिलो गरेको भए थप शुल्क नलाग्ने जानकारी गराएको छ । बिहीबार बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको थियो ।
बोर्डका अनुसार यो वर्ष नवीकरण गर्न बाँकी संख्या अत्यधिक भएकाले बिमितको सहजताका लागि जरिवाना शुल्क स्थगित गरेको हो ।
‘स्वास्थ्य बीमा बोर्डबाट स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध नागरिकको बीमालेख नवीकरण गर्नेसम्बन्धी कार्यविधि, २०८२’ कार्यान्वयनका लागि स्वीकृत भएकोमा हालको विकसित परिस्थिति तथा बोर्डलाई आवश्यक संरचना तयार गर्न थप समय लाग्ने भएकाले उक्त कार्यविधिअन्तर्गतको लक्षित वर्ग नवीकरण तथा म्याद गुजारी नवीकरण गर्ने विमितको हकमा लाग्ने थप शुल्कलगायतका नयाँ व्यवस्था अर्को सूचना प्रकाशित नभएसम्मका लागि कार्यान्वयन नगर्नु नगराउनुहुन वोर्डको मिति २०८२/०६/३० को निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।
बोर्डले यसअघि भदौमा सूचना जारी गर्दै असोज मसान्तभित्र बीमा नवीकरण नगरे जरिवाना लाग्ने बताएको थियो । तर बिमितलाई असहज परिस्थितिमा सहज बनाउन बोर्डले उक्त निर्णय फिर्ता लिँदै बीमा नवीकरणको थप शुल्क हटाएको हो ।
बोर्डले यसअघि विभिन्न कडा रोग लागेका बिरामीले रेफर लेटर ल्याउनु नपर्ने निर्णय गरेको थियो । जसमा क्यान्सर, मुटु, गर्भवतीलगायतका विभिन्न रोग लागेका बिरामीलाई रेफर लेटर आवश्यक नपर्ने निर्णय गरेको थियो ।





