काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले प्रमुख जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा र स्वास्थ्य बीमा बोर्ड का कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेल सँग स्पष्टीकरण माग गरेको छ ।
मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्ति तथा बैठकमा उपस्थितिसम्बन्धी विषयमा सञ्चारमाध्यममा आएका विवरणलाई लिएर दुवै अधिकारीसँग तीन दिने स्पष्टीकरण सोधेको हो ।
सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार बोर्ड सदस्य नियुक्तिसम्बन्धी माइन्युट, निर्णय तथा उपस्थितिसँग सम्बन्धित कागजात मिलाउने काममा कर्मचारीहरूको भूमिका रहेको सार्वजनिक भएपछि मन्त्रालयले यस विषयमा चासो देखाएको हो ।
मन्त्रालयको कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत दिपेन्द्र दहाल द्वारा हस्ताक्षरित पत्रमार्फत सापकोटा र पौडेललाई उक्त विषयमा आफ्नो संलग्नता र भूमिकाबारे स्पष्ट पार्न तथा के कारणले यस्तो अवस्था सिर्जना भयो भन्नेबारे तीन दिनभित्र जवाफ पेश गर्न निर्देशन दिइएको छ ।
निष्क्रिय भइसकेकी बोर्ड सदस्य जुनु श्रेष्ठ लाई पुनः बैठकमा सहभागी गराइएको विषयले विवाद चर्किएको हो । श्रेष्ठ हालै पदमुक्त गरिएका पूर्व श्रममन्त्री दीपक साह की श्रीमती हुन् ।
मन्त्री साहमाथि पदीय मर्यादाको दुरुपयोग गर्दै आफ्नी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा सक्रिय गराएको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी ले उनलाई फिर्ता बोलाएको थियो ।