काठमाडौं । आइसिसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटमा नेपालल शुक्रबार समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा जापानसँग खेल्दै छ ।

खेल ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा नेपाली समयअनुसार दिउँसो ४ः१५ बजेदेखि सुरु हुनेछ । नेपालले पहिलो खेलमा कुवेतमाथि ५८ रनको जित निकालेको थियो ।

ADVERTISEMENT

नेपाल जापानलाई पराजित गरेर समूह विजेता बने लक्ष्यसहित मैदानमा आउने छ । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र जापान पहिलोपटक प्रतिस्पर्धा गर्दै छन् । नेपालले एक खेल अगाडि नै सुपर सिक्समा स्थान पक्का गरिसकेको छ । जापानले पनि कुवेतलाई हराएर नेपालसँगको भेट पक्का गरेको हो ।

यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण छ । किनकि दुवै टोली सुपर सिक्समा जाने भएपछि समूहचरणको अंकसमेत सुपर सिक्समा जोडिनेछ । एउटै समूहमा रहेको टोलीसँग सुपर सिक्समा प्रतिस्पर्धा हुँदैन । अन्य समूहका चार टोलीसँग मात्र प्रतिस्पर्धा हुन्छ ।

ADVERTISEMENT

सुपर सिक्समा पनि उत्कृष्ट तीन स्थानमा पुग्ने टोलीले आगामी वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछन्।