काठमाडौं। साढे दुई वर्षीया आर्यतारा शाक्य नवनियुक्त राजकीय जीवित देवी कुमारी भएकी छिन्। उनी शाक्य समुदायका १६ वटा बहालमध्ये इटुम्बाहलको बहालबाट चयन भएकी हुन्। उनका पिता अनन्त शाक्य, आमा प्रतिष्ठा शाक्य, र बहिनी परमिता शाक्य हुन्।
आर्यतारा मंगलबार, अष्टमीका दिन ऐतिहासिक कुमारी घर, काठमाडौं मा औपचारिक रूपमा पूजनीय कुमारी घोषणा गरिइन्। उनी हालकी कुमारी तृष्णा शाक्यकी उत्तराधिकारी भएकी हुन्। तृष्णाको कुमारीकाल उनको किशोरावस्थामा प्रवेशसँगै परम्परा अनुसार समाप्त भएको थियो। कुमारीकाल समाप्त भएपछि तृष्णालाई बाजा–गाजा सहित विशेष पूजापाठ गरेर घरसम्म पुर्याइ, परम्परागत रीति अनुसार बिदाइ गरिएको थियो।
कुमारीलाई हिन्दू देवी तलेजुको जीवित अवतार मानिन्छ। उनको चयन प्राचीन तान्त्रिक विधि र ज्योतिषीय मूल्याङ्कनमार्फत गरिन्छ। यस प्रक्रियामा पञ्चाङ्ग समिति, तलेजुका मूल पुजारी, गुठीका प्रतिनिधि र ज्योतिषी संलग्न हुन्छन्। राजकीय कुमारी शाक्य कुलकै हुनुपर्छ र आमा–बुवा दुवै काठमाडौंका स्थानीय शाक्य समुदायका सदस्य हुनुपर्छ।
नवनियुक्त कुमारीमा ३२ विशेष गुण हुनु अनिवार्य हुन्छ। यसमा सुन्दरता, शारीरिक शुद्धता, शान्त स्वभाव, दैवी स्वरूपका विशेषताहरू, शरीरमा कुनै घाउ वा दाग नहुनु, सबै दाँत पूरा हुनु, र असामान्य निडरता देखाउने क्षमता समावेश छन्।
आर्यताराको नियुक्तिले नेपालको शताब्दीपुरानो कुमारी परम्परालाई निरन्तरता दिएको छ। राजकीय जीवित देवी कुमारी हिन्दू तथा बौद्ध दुवैले पूजा गर्छन् र उनी राष्ट्रिय सांस्कृतिक तथा धार्मिक जीवनमा महत्वपूर्ण प्रतीकात्मक भूमिकामा रहन्छिन्।












