काठमाडौँ । रसुवा र नुवाकोट क्षेत्रबाट निरन्तर थप ठुलो बाढी आउन लागेको भन्दै फैलिएको हल्लामा कुनै आधिकारिकता र विश्वसनीयता नभएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान तथा पूर्व सूचना महाशाखाले स्पष्ट पारेको छ ।

महाशाखाले हालसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा थप ठुलो बाढी आउने कुनै विश्वसनीय आधार नदेखिएको भन्दै नागरिकहरूलाई संयमित रहन र अपुष्ट सूचनाको पछि नलाग्न आग्रह गरेको हो ।

विभिन्न माध्यम र फोनमार्फत थप ठुलो बाढी आउन लागेको जानकारीहरू प्राप्त भइरहेको सन्दर्भमा महाशाखाले एक विज्ञप्ति जारी गर्दै स्थिति स्पष्ट पारेको हो । महाशाखाका अनुसार उक्त क्षेत्रमा वर्षा भइरहेका कारण नदीको बहाव केही बढ्न सक्ने देखिए पनि हालसम्म थप विनाशकारी बाढी आउने सम्भावना देखिएको छैन ।

ADVERTISEMENT

त्यसैले आज बिहानको बाढीबाट प्रभावित स्थानभन्दा बाहिर सुरक्षित स्थानमा रहेका नागरिकहरूलाई अनावश्यक रूपमा नआत्तिन र संयमित रहन महाशाखाले हार्दिक अनुरोध गरेको छ ।

ADVERTISEMENT

महाशाखाले आगामी समयमा नेपालतर्फ कुनै ठुलो बाढी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकाय तथा सम्बन्धित निकायहरूसँग समन्वय गरी तुरुन्त जानकारी गराउने जनाएको छ । यस्तो परिस्थितिमा एसएमएस लगायत उपलब्ध विभिन्न सञ्चार माध्यमबाट यथाशीघ्र आधिकारिक पूर्व सूचना सम्प्रेषण गरिनेछ ।

ADVERTISEMENT

महाशाखाले आधिकारिक सूचना र स्रोतबाट प्राप्त जानकारीलाई मात्र आधार मान्न र सुरक्षित रहन आवश्यक सावधानी अपनाउन सबैमा अपिल गरेको छ ।

flood-alert