काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला भूषण राणाको जावलाखेलस्थित घरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले निगरानीमा राखेको छ भने उनका ससुराको घरमा भने खानतलासी गरेको छ।
आइतबार दिउँसो सीआईबीको टोली राणाको घर पुगे पनि उनी हाल देशबाहिर रहेका कारण त्यहाँ घरकाम गर्ने कामदार मात्र भेटिएका थिए। त्यसैले तत्काल खोजतलास सञ्चालन नभए पनि घरलाई निगरानीमा राखिएको सीआईबी स्रोतले जनाएको छ।
यस्तै, उनका बुवाआमाको जावलाखेलस्थित घरमा भने सीआईबीले छापा मारेको छ। ललितपुर महानगरपालिका–४ मा पर्ने छुट्टाछुट्टै दुई घरमा सीआईबीको टोली पुगेको प्रहरीले पुष्टि गरेको छ।
भूषण राणा, देउवाकी पत्नी तथा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका कान्छा भाइ हुन्। उनी राज्यका विभिन्न निकायमा ठूला सरकारी खरिद प्रक्रिया र नियुक्ति–बढुवामा प्रभाव जमाउने व्यक्ति भनेर चिनिँदै आएका छन्।
यो कदम गत भदौ २४ (सेप्टेम्बर ९) मा बुढानीलकण्ठस्थित देउवाको निवासमा प्रदर्शनकारीले आक्रमण गर्दा ठूलो परिमाणमा नगद र बहुमूल्य सामान फेला परेको घटनापछि आएको हो।






