काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । एक्कासि प्रेसर बढेपछि उनी बुधबार राति साढे ११ बजे सिंगापुर प्रस्थान गरेका हुन् ।
चुनावको मुखमै देउवा भतिज भानु देउवालाई लिएर सिंगापुर उडेका हुन् । उनको विदेश यात्रालाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनी चुनाव छल्नकै लागि सिंगापुर गएको बताइन्छ । देउवा चुनावसम्म स्वदेश नफर्किने भएका छन् । स्रोतका अनुसार उनले सिंगापुरबाटै विज्ञप्ति निकाल्ने छन् ।
पार्टीको हालै सम्पन्न दोस्रो विशेष महाधिवेशनले उनलाई पदमुक्त गरेपछि उनी रुष्ट रहँदै आएका थिए । विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेपछि देउवा निष्क्रिय भएका थिए ।
पार्टीको आन्तरिक विवादकै कारण उनी निर्वाचनप्रति नकारात्मक पनि देखिएका थिए । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते देउवा दम्पत्तीमाथि कुटपिट पनि भएको थियो । त्यसपछि उनले सिंगापुरमै उपचार गराएका थिए ।
उनी लामो समय विदेशमै बस्न चाहे पनि कांग्रेसका सात पूर्वपदाधिकारीले तारान्तर फोन गरेर देउवालाई स्वदेश बोलाएका थिए । तर कांग्रेसमा नियमित कि विशेष महाधिवेशन गर्ने भन्नेमा देउवा अनिर्णीत बने । त्यसपछि पुस २७ गते विशेष महाधिवेशन भयो । विशेष महाधिवेशनले देउवालाई हटाएर थापा नेतृत्वमा नयाँ कार्यसमिति बनेको हो ।








