काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । केही समयअघि बैठक सुरु भएको हो । बैठकले राष्ट्रपति रामचन्द्र पौडलेसमक्ष संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी अध्यादेश, २०८३ जारी गर्न सिफारिस गर्ने तयारी गरेको छ ।
बैठकले केही नेपाल ऐन संशोधन गर्ने ऐन २०८३ अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिसकाे निर्णय गर्ने भएको छ । गत साउन १४ गते पनि सोही ऐनका एक दर्जन प्रावधान संशोधन गरिएको थियो ।
आह्वान भइसकेको संसद् अधिवेशन स्थगित गरेर सरकारले अध्यादेश ल्याउने तयारी गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ का लागि संघीय संसद्को अधिवेशन आह्वान गरेका थिए । तर भोलिपल्टै सरकारकै सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन स्थगित गरेका थिए ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अध्यादेश ल्याउनु उचित नभएको टिप्पणी गरेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले संसद् छलेर अध्यादेश जारी गर्नु उचित भएको बताएका छन् ।








