काठमाडौँ,  प्रधानमन्त्री सुशीला कार्कीले विजया दशमीको अवसरमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवारलाई भेट्दै गहिरो दुःख प्रकट गर्नुभएको छ। उहाँले आन्दोलनका क्रममा नहुने किसिमका दुर्घटनाहरू भएको उल्लेख गर्दै यसको मूल कारण तत्कालीन सरकार र जिम्मेवार निकायको कमजोर निर्णय क्षमता र “बुद्धि नपुग्नु” भएको टिप्पणी गर्नुभयो।

प्रधानमन्त्री कार्कीले बागलुङ घर भई हाल काठमाडौँको वनस्थलीमा बसोबास गर्दै आएका सहिद सौरन किशोर श्रेष्ठको परिवारसँग भेटघाट गर्नुभयो। साथै, उहाँ नागार्जुन–३ पुगेर सहिद कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगरमा पुगेर सहिद बुद्धिबहादुर तामाङको परिवारसँग समेत भेट्नुभएको थियो।

ADVERTISEMENT

यस अवसरमा प्रधानमन्त्रीसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि सहिद परिवारलाई भेट्न उपस्थित हुनुभएको थियो। मन्त्री खरेलले सहिद परिवारसँग भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै भन्नुभयो, “प्रधानमन्त्रीले पनि यस वर्ष दशैँमा टीका लगाउनुभएन, मैले पनि लगाइनँ। हामी सहिद परिवारसँगै रहेर उनीहरूको आवाज सुन्न आएका हौं। सहिद परिवारले व्यक्त गर्नुभएको मुख्य चाहना भनेको सहिदहरूको रगतले न्याय पाउनुपर्छ भन्ने हो।”

ADVERTISEMENT

प्रधानमन्त्री कार्कीले भेटका क्रममा सहिद परिवारलाई सम्बोधन गर्दै भन्नुभयो, “दुःखद घटना भयो। सरकारमा हुनेहरूको बुद्धि पुगेको भए यस्तो दुर्घटना हुनुपर्ने थिएन। यस आन्दोलनले धेरै परिवारलाई शोकमा डुबायो। राज्यले गुमाएका जीवन फर्काउन त सक्दैन तर पीडित परिवारलाई उठ्न सहयोग गर्ने जिम्मेवारी अवश्य लिन्छ।”

उहाँले सहिद परिवारका बालबालिकाको शिक्षा र रोजगारीको व्यवस्थापन गर्न सरकारले गम्भीरतापूर्वक सोचिरहेको बताउँदै कुनै पनि पीडित परिवारलाई बेवास्ता नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँको भनाइमा, “सहिद परिवारले असामान्य सुविधा मागेका छैनन्। उहाँहरूको नोक्सानको क्षतिपूर्ति त हुन सक्दैन तर राज्यले हातेमालो गर्नेछ।”

सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले पनि सहिद परिवारलाई सम्बोधन गर्दै सहिदको बलिदान व्यर्थ नजाने बताउनुभयो। उहाँले भन्नुभयो, “सहिदहरूको रगतले न्याय पाउनेछ। अन्याय हुन दिइने छैन। राज्य र जनताबीचको सम्बन्ध अझ दृढ बनाउन सहिदको बलिदानलाई सम्मानित गर्नेछौं।”

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ठूलो संख्यामा मानवीय क्षति भएको थियो। आन्दोलनमा ७६ जनाले ज्यान गुमाएका थिए भने सयौँ घाइते भएका थिए। आन्दोलनपश्चात् मुलुक राजनीतिक तथा सामाजिक अस्थिरतामा प्रवेश गरेको भन्दै यस घटनाप्रति चासो र चिन्ता अझै कायम छ।

प्रधानमन्त्री कार्कीको सहिद परिवारसँगको भेटलाई धेरैले राज्यको तर्फबाट पीडित परिवारप्रति जिम्मेवारीपूर्वक लिएको कदमको रूपमा व्याख्या गरेका छन्। तर आलोचकहरूले भने केवल आश्वासन र बयानभन्दा बढी ठोस कार्ययोजना आवश्यक भएको बताएका छन्।