वीरगञ्ज। पर्सामा चोरी पैठारी र अवैध निकासी नियन्त्रणका लागि सुरक्षा निकायले कडाइ गरेको छ । चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज भन्सार कार्यालयले ४३ अर्ब ३ करोड रुपैयाँ राजस्व लक्ष्य पाएकोमा ३९ अर्ब १५ करोड रुपैयाँ मात्रै सङ्कलन गरेको छ, जुन लक्ष्यको ९०.९९ प्रतिशत हो ।

भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले चोरी तस्करी नियन्त्रणका लागि सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढ्ने बताए । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले भने, “भारतीय नागरिकले नेपालका कम आयआर्जन भएका नागरिकको नागरिकताको दुरुपयोग गरी विभिन्न फार्महरु दर्ता गरी त्यहीमार्फत तस्करी गर्ने पनि विभिन्न समयमा भेट्टिएको छ । नेपाल÷भारतका नागरिक–एउटाले तस्करीका सामान ओसार्ने र त्यसलाई वैधता दिन बिल मात्र किन्ने, बिलको किनबेच खालका पनि गतिविधि बेलाबखतमा देखिएको छ ।”

उनका अनुसार महँगा कपडा, जुत्ता–चप्पल, पर्दा, अण्डा, कुखुराका चल्ला, माछा, मोबाइल, इलेक्ट्रिक उपकरण, हार्डवेयर सामग्रीलगायत सामान प्रायः भन्सार छली भित्रिने गरेका छन् । साथै भन्सारमा गलत मूल्य, तौल कम बताएर आयात निर्यात हुने प्रवृत्ति पनि रहेको छ ।

ADVERTISEMENT

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले भने, “सङ्गठित रुपमा अवैध चोरी पैठारी तथा निकासी गर्नेलाई कडाइ गर्दै आइरहेका छौँ ।” उनले जेनजी प्रदर्शनका क्रममा शहरी क्षेत्रमा केन्द्रित सुरक्षाबल  अब ग्रामीण क्षेत्रमा पनि विस्तार गरिएको जनाए ।

ADVERTISEMENT

सशस्त्र प्रहरी बल नं. १३ गण पर्साका गणपति पुरनचन्द्र भट्टले ग्रामीण क्षेत्रमा हुन सक्ने चोरी तस्करी नियन्त्रणका लागि रातको समयमा पनि गस्ती बढाइएको जानकारी दिए ।

ADVERTISEMENT