काठमाडौं। नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अब निर्वाचनमार्फत टुंग्याउने तयारी गरेको छ। आकांक्षीहरूको संख्या धेरै भएकाले सहमति जुटाउन नसकिएको पार्टीका सहमहामन्त्री उदय शमशेर राणाले बताएका छन्।
राणाका अनुसार सुरुमा सर्वसम्मत रूपमा नेता चयन गर्ने प्रयास गरिएको भए पनि त्यसका लागि अनुकूल वातावरण बन्न नसक्दा प्रक्रिया ढिलो भएको हो। “हामीले सर्वसम्मत गर्ने प्रयास गरेका थियौँ, तर सबै आ–आफ्नो अडानमा हुनुहुन्छ,” उनले भने, “अब धेरै समय पर्खिने अवस्था छैन, चुनाव नै विकल्प बन्छ।”
उनले नयाँ वर्षको आगमनसँगै संसदीय दलको नेता चयन प्रक्रिया टुंगो लगाइने जानकारी दिए।कांग्रेस संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, निश्कल राई र बासना थापाले दाबी प्रस्तुत गरेका छन्। आकांक्षीहरूबीच सहमति कायम हुन नसक्दा निर्वाचनको सम्भावना बलियो बनेको हो।
यता, कांग्रेस केन्द्रीय कार्यालयले नेता चयनका लागि निर्वाचन समिति गठनको तयारी भइरहेको बताए। “हाम्रो काम निर्वाचन समिति बनाएर पठाउने हो,” उनले भने, “आगामी वैशाख २ गतेभित्र समिति गठन हुन्छ।”
यसअघि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलमध्ये ५ दलले आफ्नो संसदीय दलको नेता चयन गरिसकेका छन्। कांग्रेस मात्र नेता चयन गर्न बाँकी रहेको दलका रूपमा रहेको छ।





