काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री कार्कीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन् ।
भेटमा देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको दाहालको निजी सचिवालयले जनाएको छ ।
अध्यक्ष दाहालले राष्ट्रिय सभाको कामकारबाही, अवस्था र बानेश्वरस्थित संघीय संसद् भवन तथा सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा भएको क्षतिकाबारे प्रधानमन्त्री कार्कीलाई जानकारी गराएका थिए।
प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातर्फ लैजान राष्ट्रिय सभाको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै वर्तमान राष्ट्रिय संकटलाई सही निकास दिन सबैले सहकार्य गरी अघि बढ्न आग्रह गरेकी थिइन् ।
प्रधानमन्त्री कार्कीको सपथमा दाहाल सहभागी भएका थिएनन् । तर सोमबार तीन मन्त्रीको सपथ समारोहमा भने दाहाल उपस्थित भएका थिए । राष्ट्रिय सभा स्थायी सदन भएकाले पनि अहिलेको अवस्थामा यसको महत्वपूर्ण भूमिका रहन्छ ।






