काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बडादसैँले राष्ट्रिय एकता, सामाजिक सद्भाव र पारस्परिक सम्मान सुदृढ बनाउँदै समावेशी तथा समृद्ध नेपाल निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

बडादसैँ–२०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

ADVERTISEMENT

दसैँ धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व बोकेको मौलिक पर्व भएको उल्लेख गर्दै उनले यसले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिने बताएका छन्। मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले पारिवारिक सम्बन्ध तथा आत्मीयता बलियो बनाउने उनको भनाइ छ।

ADVERTISEMENT

घटस्थापनादेखि विजयादशमीसम्मका धार्मिक अनुष्ठान र पारिवारिक पुनर्मिलनले नेपाली सांस्कृतिक विरासतलाई जीवन्त राखेको उल्लेख गर्दै अध्यक्ष दाहालले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका संस्कार र परम्पराको संरक्षणमा जोड दिएका छन्।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताले समृद्ध राष्ट्र भएको उल्लेख गर्दै उनले संविधानले सबै समुदायका भाषा, संस्कृति, परम्परा र सम्पदाको संरक्षण तथा संवर्द्धनलाई महत्त्व दिएको बताएका छन्।

ADVERTISEMENT

सबै धर्म, सम्प्रदाय र समुदायका चाडपर्वप्रति समान सम्मान र सहिष्णुता कायम राख्दै विविधताभित्रको एकतालाई बलियो बनाउनु सबैको साझा दायित्व भएको अध्यक्ष दाहालले बताएका छन्।