काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्जसहित पूर्वी तराई–मधेसका केही क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।

शुक्रबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले घटनामा भएको मानवीय क्षति, सुरक्षाकर्मी तथा सर्वसाधारण घाइते भएको अवस्था र त्यसबाट उत्पन्न सामाजिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले राष्ट्रिय सभाको तर्फबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए।

ADVERTISEMENT

नेपालको संविधानले बहुजातीय, बहुभाषिक र बहुधार्मिक विविधतालाई आत्मसात् गरेको उल्लेख गर्दै उनले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतामा आँच पुर्‍याउने कुनै पनि प्रकारका हिंसा, घृणा र साम्प्रदायिक विभाजनका प्रयास स्वीकार्य नहुने बताए।

अध्यक्ष दाहालले जस्तोसुकै असन्तुष्टि वा विवादको समाधान संविधान, कानुन र लोकतान्त्रिक संवादको माध्यमबाट मात्रै सम्भव हुने उल्लेख गर्दै घटनाको निष्पक्ष र विश्वसनीय छानबिन गर्न सरकारलाई आग्रह गरे।

ADVERTISEMENT

उनले दोषीमाथि कानुनबमोजिम कडा कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा र प्रशासनिक उपाय अपनाउन सरकारलाई निर्देशन दिए। साथै घटनाबारे यथार्थ विवरण सार्वजनिक गरी नागरिकमा विश्वासको वातावरण बनाउन पनि उनले जोड दिए।

संवेदनशील अवस्थामा संयमता अपनाउन राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज र धार्मिक अगुवाहरूलाई आग्रह गर्दै अध्यक्ष दाहालले सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपुष्ट, भ्रामक र उत्तेजक सामग्री प्रसारण नगर्न अनुरोध गरे। प्रमाणित र आधिकारिक सूचना मात्रै सम्प्रेषण गरी शान्ति र भाइचाराको वातावरण निर्माणमा सहयोग गर्न उनले सबैलाई आह्वान गरे।