काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश भएको छ । लामिछानेको अभियोग संशोधनविरुद्ध परेका रिटमा न्यायाधीशहरू विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासले पूर्ण इजलासमा पठाउने आदेश दिएको हो ।

अब सर्वोच्च अदालतको पूर्ण इजलास गठन हुनेछ । प्रधानन्यायाधीशले इजलास गठन गरेपछि यो मुद्दाको सुनुवाइ हुने भएको छ । रविको मुद्दा गत चैत ९ देखि हेर्दाहेर्दैमा राखेर सुनुवाइ हुँदै आएको छ।

ADVERTISEMENT

दुई महिनाअघि महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर हटाउने निर्णय गरेको थियो। त्यसविरुद्ध सर्वोच्चमा रिट परेपछि जिल्ला अदालतहरूमा यससम्बन्धी निर्णय रोकिएका छन्। रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा हटाउने निर्णय गर्ने तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीले पदबाट राजीनामा दिइसकेकी छन् ।

भण्डारीले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् । उनले लामिछानेमाथि सहकारी ठगीमा मात्र मुद्दा चलाउन सम्बद्ध जिल्ला सरकारी वकिल कार्यालयलाई पत्रमार्फत निर्देशन दिएकी हुन् ।

ADVERTISEMENT

लामिछानेले आफूविरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुरोध गर्दै महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए । उनको मागबमोजिम भण्डारीले स्वीकृति दिने निर्णय गरेकी हुन् ।