काठमाडौं । एमालेको दोस्रो विधान महाधिवेशनको उद्घाटन भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुक्रबार आयोजित विधान महाधिवेशनको प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गरेका हुन् ।

तीन दिनसम्म चल्ने महाधिवेशनमा २०२६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कुल २३४१ जना सहभागी छन् ।

एमालेको दोस्रो विधान महाधिवेशनमा यसपटक निकै रस्साकस्सी हुने देखिएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खारेज गर्ने निर्णयले महाधिवेशनको माहोल तताउने परिस्थिति देखिएको छ । जसकारण अहिले संस्थापन पक्ष रक्षात्मक अवस्थामा पुगेको छ ।

विधान महाधिवेशनमा देशभरिबाट आएका प्रतिनिधिले गोदावरीको माहोल अर्कै देखिएको छ । प्रतिनिधिहरू आफूले खिचेको फोटो र भिडियो कुन सामाजिक सञ्जालमा हाल्ने भनेर अन्योलमा परेका छन् । महाधिवेशनस्थलमा पुगेका सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले भाइवरमा हाल्ने भनेर सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका छन् ।