काठमाडौं । एमालेको दोस्रो विधान महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको दोस्रो विधान महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गरी पत्र लेखेकी छन् । भण्डारीले एमाले पूर्वउपाध्यक्षको हैसियतमा खुला पत्र लेखेकी हुन् ।
पत्रमा उनले आफ्नो पार्टी सदस्यता नवीकरणमाथि उठाइएको विवादले पार्टीको एकता र लोकतान्त्रिक मूल्यमाथि प्रश्न उठेको बताएकी छन्। पत्रमा यो विवाद व्यक्तिगत नभई पार्टीको विधि, मूल्य र भविष्यसँग जोडिएको उनले उल्लेख गरेकी छन्।
उनले पत्रमा लेखेकी छन्, ‘म अहिले एउटा यस्तो परिवेशमा उभिएको छु, मैले २०३७ सालमा प्राप्त गरेको पार्टी सदस्यता जो मेरो गहिरो आस्था र विश्वासको प्रतीक समेत हो, त्यसमा कुठाराघात गर्ने प्रयास गरिएको छ । पार्टीले विशेष निर्णय गरेर देशको राष्ट्रपति हुन पठाएपछि कुशलतापूर्वक सो अभिभारा पूरा गरेर फर्किएँ र अब पार्टीमा नै संलग्न भएर अगाडि बढ्न चाहन्छु भन्दा पार्टी सदस्य हुनबाट रोक्ने प्रयास ज्यादै दुःखको विषय हो । यस्तो प्रश्न मेरा निम्ति मात्र होइन कुनै पनि पार्टी सदस्यले भोग्नु हुँदैन भन्ने मेरो अडान हो ।’
एमाले केन्द्रीय कमिटीको बैठकले भण्डारीको नवीकृत सदस्यतामाथि प्रश्न उठाएपछि उनले विधान महाधिवेशनको पूर्वसन्ध्यामा पत्रमार्फत आफ्नो धारणा राखेकी हुन्। उनले पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीका बैठकहरूमा यसअघि आफ्नो सदस्यतामाथि कुनै प्रश्न नउठेको तर अहिले विवादमा पारिएकोप्रति आश्चर्य व्यक्त गरेकी छन्।
‘मैले आफ्नो जीवनको लामो समय देश, जनता र पार्टीका लागि अर्पण गरेको छु। महिला अधिकार, मानव अधिकार, न्याय र समानताका लागि निरन्तर आवाज उठाउँदै आएकी छु,’ उनले लेखेकी छन्, ‘आज मेरो सदस्यतामाथि उठाइएको प्रश्न मेरो लागि मात्र होइन, पार्टी र सिंगो राष्ट्रका लागि गम्भीर छ। यो पत्र आत्मरक्षाका लागि होइन, बरु पार्टीको उज्ज्वल भविष्यका लागि हो।’
आफूले २०३७ सालमा प्राप्त पार्टी सदस्यता आफ्नो आस्था र विश्वासको प्रतीक भएको उल्लेख गर्दै उनले यसमा कुठाराघात गर्ने प्रयास दुखद् भएको बताएकी छन्। उनले पार्टीको विशेष निर्णयले राष्ट्रपति बनाइएपछि कुशलतापूर्वक जिम्मेवारी पूरा गरेको र अब पार्टीमा सक्रिय हुन खोज्दा सदस्यताबाट रोक्ने प्रयास भएकोमा आपत्ति जनाएकी छन्। ‘यो प्रश्न मेरा लागि मात्र होइन, कुनै पनि पार्टी सदस्यले भोग्नु हुँदैन,’ उनको गुनासो छ ।
भण्डारीले २०८२ असार १४ गते मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी ओलीको उपस्थितिमा आफ्नो सदस्यता नवीकरण भएको घोषणा गरेको स्मरण गरेकी छन्। सो कार्यक्रममा उनले जनताको बहुदलीय जनवादको अजेयता, सामाजिक–आर्थिक रूपान्तरण र पार्टीको सुदृढीकरणबारे सम्बोधन गरेको उल्लेख गरिन्।
भण्डारीले आफ्नो सदस्यता कायम राख्न र पार्टीमा एकताबद्ध वातावरण बनाउन नेतृत्वसँग आग्रह गरेकी छन्। उनले यो विषय सम्पूर्ण सदस्यहरूको आस्था र अधिकारसँग जोडिएको बताउँदै पार्टीको विधि, मूल्य र लोकतान्त्रिक अभ्यासको रक्षाका लागि यो पत्र लेखेको उल्लेख गरेकी छन्। भण्डारीले पार्टीमा विधि, पद्धति र लोकतान्त्रिक अभ्यास कमजोर भए सम्पूर्ण पार्टीलाई असर पर्ने चेतावनी दिँदै समयमै सच्याउन आग्रह गरेकी छन्। उनले सबै प्रतिनिधिलाई खुला ढंगले आफ्नो कुरा राख्न आग्रह गरेकी छन् ।






