काठमाडौं। बीमा प्राधिकरणले बीमा कम्पनीको विदेशी मुद्रा सटही सिफारिससम्बन्धी नयाँ निर्देशन, २०८२ जारी गरेको छ। पुनर्बीमा, रेट्रोशेसन, परामर्श सेवा लगायत विदेशमा भुक्तानी गर्नुपर्ने रकम पारदर्शी र व्यवस्थित बनाउन प्राधिकरणले बीमा ऐन, २०७९ को दफा १६६ बमोजिम उक्त निर्देशन ल्याएको जनाएको छ ।
निर्देशनअनुसार बीमकले विदेशी बीमक, पुनर्बीमक, विदेशी लगानीकर्ता वा सेवाप्रदायक संस्थालाई गर्ने भुक्तानी प्राधिकरणको सिफारिस लिएर मात्र गर्नुपर्नेछ। साथै, यस प्रक्रियामा नेपाल राष्ट्र बैंकले केहि समय अगाडी जारी गरेको विदेशी विनिमयसम्बन्धी निर्देशन र प्रचलित कानुनको समेत पालना गर्नुपर्ने व्यवस्था गरिएको छ।
सिफारिस माग गर्दा भारतको हकमा भारतीय रुपैयाँमा र अन्य मुलुकको हकमा त्यहाँको स्वदेशी मुद्रा वा अमेरिकी डलरमा मात्र भुक्तानी गर्नुपर्नेछ। पुनर्बीमा शुल्क तिर्न विदेशी मुद्रा सटही सिफारिस माग गर्दा निश्चित विवरणसहित स्वघोषणा र सारांश पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, कर, सेवा शुल्क वा पुनर्बीमा कमिशन जस्ता छुट कटाएर मात्र खुद रकमको भुक्तानी गर्न सकिनेछ। सिफारिसका लागि पेश हुने निवेदनमा बीमकका प्रमुख कार्यकारी अधिकृतको हस्ताक्षर अनिवार्य हुनेछ भने संलग्न कागजातमा कम्पनीको छाप र कर्मचारीको हस्ताक्षर हुनुपर्ने जनाइएको छ ।
प्राधिकरणबाट सिफारिस प्राप्त भएपछि बाणिज्य बैंकमार्फत १५ दिनभित्र र नेपाल राष्ट्र बैंकमार्फत ३० दिनभित्र भुक्तानी गरी सोको प्रतिवेदन तीन दिनभित्र प्राधिकरणमा बुझाउनुपर्ने उल्लेख गरिएको छ।








