काठमाडौँ। नेपालभित्र निजी लगानीमा बनेको पहिलो चलचित्र ‘माइतीघर’ मा समावेश शीर्ष गीत ‘प्राणभन्दा प्यारो माइतीघर’ नयाँ स्वरूपमा तयार पारिएको छ। आशा भोस्लेले दिइसकेको पुरानो स्वरलाई आधुनिक शैलीमा पुनःनिर्माण गरिएको निर्माता रोहित अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार, नाम उही, गीत उही भए पनि नयाँ परिवेशमा पुरानो मर्म कायम राख्ने उद्देश्यले गीतलाई नयाँ स्वरूपमा प्रस्तुत गरिएको हो। गीतमा सञ्जिवनीले स्वर दिएका छन् भने स्वर्गीय जयदेवको सिर्जना गरिएको सङ्गीत र किरण खरेलको रचना गरिएको शब्दअनुसार यसलाई पुनःनिर्माण गरिएको छ।

निर्माता अधिकारीले भने, “पुरानो नाममै चलचित्र निर्माण गर्ने निर्णय गरेपछि कालजयी गीतलाई नयाँ स्वरूपमा ल्याएर नयाँ पुस्तासम्म पु¥याउने तयारी गरेका छौँ। गीतले चलचित्रको कथालाई पनि अगाडि बढाउँछ।”

ADVERTISEMENT

गीतमा अभिनेत्रीद्वय उपासना सिंह ठकुरी र श्याम श्री शेर्पाले अभिनय गरेका छन्। श्रव्यदृश्यमा कविराज गहतराजको नृत्य निर्देशन, मानकृष्ण महर्जन र सुशन प्रजापतिको संयुक्त छायाङ्कन, तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।

ADVERTISEMENT

मिलन तामाङको निर्देशनमा बनेको चलचित्रमा केदारप्रसाद घिमिरे, धीरज मगर, प्रकाश सपुत, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, सङ्गीता थापा लगायत कलाकारहरूले अभिनय गरेका छन्। चलचित्र दसैँको अवसर पारेर फूलपाती (असोज १३ गते)देखि प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ।