काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।

आइतबार बिहान दुईदिने नेपाल भ्रमणमा आएका विदेश सचिव मिस्रीले राष्ट्रपतिको कार्यालयमा पुगेर शिष्टाचार भेट गरेका हुन् । भेटका अवसरमा राष्ट्रपति पौडेलले एक मित्र एवम् निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिबाट नेपालले लाभ हासिल गरेको र अझ बढी लाभान्वित हुन चाहेको बताए ।

“एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिको रुपमा भारतको सामाजिक–आर्थिक र प्राविधिक क्षेत्रमा देखिएको प्रगतिबाट हामी प्रसन्न र उत्साहित छौँ, एक मित्र एवम् निकट छिमेकीका नाताले भारतका प्रगतिबाट नेपालले लाभ हासिल गरेको छ र अझ बढी लाभान्वित हुन चाहन्छ”, शिष्टाचार भेटमा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

उनले नेपाल र भारतबिच शताब्दीऔंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक, तथा जनस्तरको निकट सम्बन्ध रही आएको बताउनुहुँदै दुई मुलुकबीचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित छ रहेको उल्लेख गरे ।