पोखरा । प्रभु बैंकका ग्राहक तथा कर्मचारीले मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा विशेष छुट पाउने भएका छन् । त्यसका लागि सम्झौता भएको छ ।
मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका अध्यक्ष आनन्द भट्टराई र प्रभु बैंकका तर्फबाट प्रमुख व्यवसाय केन्द्र अधिकृत राजु राना मगरले बिहीबार समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
पोखरा महानगरपालिका–११, रानीपौवास्थित ट्रमा सेन्टरमा प्रभु बैंकका कर्मचारी र ग्राहकले उपलब्ध सेवाहरुमा विशेष छुट पाउने भएका छन् ।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिट÷क्रेडिट कार्ड तथा बैकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपलब्ध विभिन्न सेवाहरुमा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । विशेषगरी बैंकका कर्मचारी तथा ग्राहकहरुलाई अतिरिक्त हेरचाह प्रदान गर्ने योजनाअन्तर्गत यो छुट उपलब्ध गराइएको हो ।
मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर ले उत्कृष्ट स्वास्थ्य सेवा र सुविधाहरु प्रदान गर्दै आएको छ । हस्पिटल एण्ड ट्रमा सेन्टरसँग भएको योे साझेदारीले बैंकका कर्मचारी तथा ग्राहकहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।






